इटहरी : विश्वव्यापी सञ्चार माध्यमको रूपमा डिजिटल मिडियाको प्रयोग बढे पछि परम्परागत मिडिया उपभोक्ताको अवस्था ह्रासोन्मुख रहेको एक अध्ययनले देखाएको नेपाल प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारीले बताएका छन् ।
उनले भने ‘अहिले युट्युब लगायत डिजिटल मिडिया प्लेटफार्म र फेसबुक लगायत सामाजिक सञ्जालको प्रयोग अत्यधिक रूपमा बढेको छ ।’ न्यु मिडियाको प्रयोग बढेसँगै यसको दुरुपयोग र पत्रकारितालाई चुनौती पनि बढेको उनले बताए ।
पछिल्लो समय पत्रकारहरू पनि डिजिटल मिडियामा आकर्षित हुनुका साथै मूलधारका मिडियाहरूले पनि यो माध्यमलाई अधिकतम प्रयोग गर्न थालेको बताए । डिजिटल माध्यमको अधिकतम प्रयोगले पत्रकारिता र पत्रकारको प्रतिष्ठा पनि प्रभावित भएको उनले उल्लेख गरे ।
नेपालमा डिजिटल माध्यमको दुरुपयोगका घटना नियन्त्रण गर्न साइबर ऐन प्रयोग हुने भएकाले मर्यादित पत्रकारिता गर्न चाहनेहरूले पत्रकार आचार संहिता पालना गर्दै आफ्ना मिडिया प्रेस काउन्सिलमा सूचीकरण गर्न जरुरी भएको उनको भनाई थियो ।
नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आज मङ्गलवार आयोजित मिडिया सञ्चालक÷सम्पादक संवाद तथा आचार संहिता अनुशिक्षण कार्यक्रममा अधिकारीले उक्त कुरा बताएका हुन ।
संवादमा प्रेस काउन्सिलका अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलमा सूचीकरण नभई सञ्चालन भएका युट्युब च्यानल, अनलाइन पोर्टलहरूलाई त्यसमा प्रकाशित/प्रसारित ‘कन्टेन्ट’मा उजुरी परेमा विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने स्पष्ट गरे ।
उनले भने ‘प्रेस काउन्सिलमा सूचीकरणमा रहेका अनलाइन माध्यमहरूका समाचार सामाग्रीहरूमा उजुरी आएमा आचार संहिता उल्लङ्घन भए÷नभएको छानबिन गरी काउन्सिलको नियमानुसार सुनवाइ गरिँदै आएका छ ।’ उनले पछिल्लो समय उजुरी आउने र आचार संहिता उल्लङ्घनका कुरा बढेर गएको जानकारी दिए ।
पत्रकार भोजराज श्रेष्ठले साइबर अपराध तथा विद्युतीय कारोबार ऐनले डिजिटल माध्यमहरूलाई कारबाही गर्न सक्न कानुनी प्रावधानका बारेमा अनुशिक्षण दिए । प्रेस काउन्सिलमा सूचीकरण नभई सञ्चालन गरिएका अनलाइन जोखिममा रहेका बताउँदै उनले भने ‘विद्युतीय कारोबार ऐनले कुनै पनि बेला कुनै पनि अनधिकृत माध्यम वा व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्छ ।’
पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अमर खडकाले आचार संहिता उल्लङ्घन गरी सुनसरी लगायतका अनलाइन, पत्रपत्रिकाले प्रकाशन गरेका समाचारका उदाहरणहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टेलिभिजन, पत्रिका, अनलाइन, एफएम रेडियोले भोग्नु परेका समस्या र चुनौतीका बारेमा छलफल पनि भएको थियो। समूहगत छलफलमा भएको निष्कर्ष पत्रका सुविद् गुरागाईँ, बाबुराम सुवेदी, विमल पौडेलले प्रस्तुत गरेका थिए ।
समूहगत निष्कर्षमा सबै मिडियाले सरकारी विज्ञापन नपाउनु मुख्य समस्या रहेको उल्लेख थियो । साथै पछिल्लो समय डिजिटल मिडिया आएपछि समाचारको विश्वासनिय समाचार प्रस्तुति र खोज मुलुक सामाग्रीमा कमी आएको उल्लेख गरेका थिए ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्थानीय तहबाट सञ्चालित कतिपय अनलाइन सम्पादक, प्रकाशक, रिपोर्टर, प्राविधिक एकै व्यक्तिबाट पनि सञ्चालन हुने गरेकाले भाषा, समाचार र सामग्रीमा गुणस्तर नहुने बताए । भने ‘यस्तो अवस्थाले विश्वासनिय समाचार र सामग्रीका लागि पाठकहरूलाई ठुला मिडिया हाउसप्रति निर्भरता बढाउन सक्छ ।’
महासङ्घका जिल्ला अध्यक्ष सन्तोष काफ्लेको सभापतित्वमा भएको संवाद कार्यक्रममा अग्रज पत्रकार कृष्ण अधिकारी, कृष्ण विनोद लम्साल, गङ्गा बरालले न्यु मिडियाको बढ्दो प्रयोगले पत्रकारितामा आएको सङ्क्रमणका बारेमा भनाई राखेका थिए । सञ्चालन महासङ्घ जिल्ला सचिव विनय बाह्राकोटीले गरेका थिए ।