विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई प्राकृतिक प्रकोपबाट आइपर्ने विपद व्यवस्थापनको पूर्व तयारीमा रहन निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयमा सोमवार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमख खापुङले वर्षा याम शुरु भएको तर्फ इंगित गर्दै भने ‘प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा  समय समयमा उद्दार अभ्यास गराउने समय आएको छ ।’

उनले विपद व्यवस्थापन, उद्धार कार्यमा एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जरुरी भएकोमा ध्यानाकर्षण गराए ।

प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो कोहीलाई समान व्यवहार गर्नुपर्ने निर्देशन दिदैं प्रदेश प्रहरी प्रमुख खापुङले भने ‘प्रहरी कार्यालयबाट नैराश्यता लिएर फर्किनु नपर्ने वातावरण सिर्जना गर्नु होला ।’

जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था अनुसार प्रहरी परिचालन, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षणमा गम्भिर हुन सबै जिल्ला प्रहरी प्रमुखहरुलाई उनले निर्देश दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ उपरीक्षक जयराज सापकोटा उपस्थित थिए ।