इटहरी : इटहरी उपमहानगरपालिकाले मुख्य बजार भएर बग्ने खेती खोला, टेङ्ग्रा खोला र सुकुमारी पैनीका अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको छ । सोही क्रममा इटहरीको मुख्य चोकबाट सङ्गीत चोक जाने बाटोमा लामो समयदेखि अतिक्रमित रेडक्रस भवन भत्काएर पैनी सफा गरिएको हो ।

उपमहानगरपालिकाले खोला पैनी सफाइ अभियान चलाइरहेको अवस्थामा इटहरी-४ आर्मी क्याम्प अगाडीबाट आउने पैनीलाई ड्रेनेज गर्ने काम जारी छ । प्रदेश सरकारको सहयोगमा पैनीलाई व्यवस्थित गर्ने काम सुरु भएको हो । मुख्य चोक भएर बग्ने सोही पैनी माथि घर तथा संरचना निर्माण भएका छन् । रेडक्रस भवन भत्किए सँगै जोडिएका संरचना भत्काउने बाटो खुलेको वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल बताउँछन् ।

उनका अनुसार आइतबारेको मुख्य चोक भएर बग्ने सुकुमारी पैनीलाई पनि व्यवस्थित गर्ने काम भइरहेको छ । लामो समय देखी फोहोर मैला जमेको कारण बर्खामा पानी बग्न नसकेकाले यस पटक समयमै सरसफाइको काम थालिएको उनले बताए । पानी बग्न नसक्नेगरि संरचना निर्माण भएको र फोहोर मैला थुप्रिएको कारण बर्खाको समयमा डुबानको खतरा बढेको भन्दै अभियान थालिएको पोखरेलको भनाइ छ ।

इटहरीमा खोला र पैनीको भाग अतिक्रमण गरेर बनेका संरचनाको कारण डुबानको समस्या बढको भन्दै उपमहानगरले भत्काउन निर्देशन दिँदै आएको छ । यसअघि उपमहानगरपालिकाले इटहरीको मुख्य बजार भएर बग्ने टेङ्ग्रा खोला सफाइ अभियान सम्पन्न गरिसकेको छ । आसपासका अतिक्रमित संरचना हटाएर खोलाको भाग फराकिलो बनाइएको छ ।

उपमहानगरले टेङ्ग्रा खेला, सुकुमारी पैनी र खेती खोलाको अतिक्रमित संरचना हटाउन यसअघिनै सूचना प्रकाशित गरिसकेको छ । सोही क्रममा हाल सुकुमारी पैनी सफाइ अभियान जारी छ । उपमहानगरपालिकाले खेती खोलाको अतिक्रमित संरचना हटाउन नाप जाँचको सम्पन्न गरी सकेको छ । ३५ दिने सूचना प्रकाशित गरेर खोलाको क्षेत्रफल नाप्ने काम भइसकेको र अतिक्रमित संरचना हटाउन लागेको उपमहानगरपालिकाका प्रवक्ता समेत रहेको पोखरेलले बताए ।

यसअघि इन्जिनियर विकाश भट्टराईको नेतृत्वमा सार्वजनिक तथा ऐलानी जग्गा खोजविन समिति गठन भएको थियो । सो समितिले खोला तथा पैनीको जग्गाको विवरण सहितको प्रतिवेदन उपमहानगरपालिकालाई बुझाएको छ । तत्कालीन मेयर द्वारिकलाल चौधरीले सार्वजनिक जग्गामा डोजर चलाउने अभियान सुरु गरेपछि जग्गा खोजविन सुरु भएको थियो ।