विराटनगर : विराटनगरको ग्रामीण क्षेत्रमा पशुपालन गरेर जीवन यापन गर्दै आएका कृषकहरूलाई महानगरपालिकाले पशुरोग सङ्क्रमण गर्ने परजीवी कीटाणु नियन्त्रण गर्न निःशुल्क औषधि वितरण गरेको छ ।

पशुको गोबर जाँच गरी आन्तरिक परजीवी नियन्त्रणका लागि निःशुल्क औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले बताए ।

महानगरपालिका पशुपक्षी शाखाले वडा १८ को भेडियारी टोलमा कार्यक्रम गरेर पशु किसानलाई परजीवी नियन्त्रण सम्बन्धी औषधि वितरण गरेको हो ।

त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रूपमा पालन गर्दछन् । किसानले राम्रो आम्दानी समेत गर्दै आएकामा परजीवीका कारण उत्पादनमा किसानले ठुलो नोक्सानी हुने गरेको छ ।

परजीवी नियन्त्रणको औषधि सेवनले उत्पादनमा वृद्धि हुने शाखा प्रमुख यादवको दाबी छ । वडाध्यक्ष जितेन्द्र कुमार साहले ७६ घरपरिवारका २ सय ३५ वटा पशुवस्तुलाई परजीवीको औषधि निःशुल्क वितरण गरिएको बताए ।

पशुपक्षी शाखाका गणेश पौडेल, शाखाकी डा. सराहना सुवेदीले चेकजाँच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको बताइएको छ ।

यस वर्ष १ सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिउ समेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए । १ सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवी नियन्त्रणको औषधि वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

Pashupalak lai aausadhi 2

Pashupalak lai aausadhi 3