धरान : भारतको सङ्घीय राजधानी दिल्लीमा बुधवार अहिले सम्मको सबै भन्दा धेरै तापक्रम ५२ दशमलव ९ डिग्री पुगेको सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
वास्तवमा त्यति धेरै तापमान पुगेको थियो कि थिएन भन्ने कुरामा भारतीय मौसम विभाग तथा विज्ञान मन्त्रालयले आज बिहीबार वक्तव्य जारी गर्दै आशङ्का जनाएर त्यस बारेमा जाँच गरिरहेको बीबीसीले जनाएको छ । वक्तव्यमा भनिएको छ ‘उक्त तथ्याङ्क सेन्सरको (तापमान रेकर्ड गर्ने प्रविधि) गडबडीको कारण पनि हुनसक्छ ।’
यसअघि २०२२ सालमा भारतीय मौसम विभागले नयाँ १५ ठाउँमा अटोमेटिक वेदर सेन्सर स्टेसन स्थापना गरेको थियो । त्यस बाहेक ५ डिपार्टमेन्टल अव्जर्वेटरीबाट मौसम विभागले तथ्याङ्क रेकर्ड गर्दै आएको वक्तव्यमा उल्लेख छ ।
बुधवार २९ मई २०२४ मा उक्त अब्जर्बेटरीहरु र १२५ अटोमेटिक वेदर स्टेसनमा तापक्रम ४५ दशमलव २ डिग्री देखी ४९ दशमलव १ डिग्री मात्र मापन भएको थियो ।
तर ‘मंगेशपुरमा विल्कुलै फरक ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड हुनु सेन्सरमा गडबडीको कारण पनि हुनसक्छ’ वक्तव्यमा भनिएको छ ।
यति धेरै तापक्रम रेकर्ड हुनमा ‘लोकल फ्याक्टर’ (स्थानीय मौसम) पनि हुनसक्ने जनाउँदै मौसम विभागले उक्त तथ्याङ्क कसरी रेकर्ड भयो भन्ने कुराको जाँच गरिरहेको बताएको छ।