धरान : आदिवासी समुदायको उँभौलीमा किरात राई समुदायको साकेला पर्वमा सुनसरीमा किरात राई यायोक्खाले १५ दिन सम्म मनाउने भएको छ ।

उँभौली साकेला पर्व यसपालि भोली बिहीबार वैशाखे पूर्णिमा देखी सुरु हुँदै छ । सकेलाको पूर्व सन्ध्या बुधवार यायोक्खा सुनसरी जिल्ला समितिले पत्रकार सम्मेलनको आयोजना गरी १५ दिने कार्यक्रम सार्वजनिक गरेको हो ।

भोली जेठ १० देखी सुरु हुने साकेला जेठ २६ गते धरान १७ स्थित साकेला पार्कमा वृहत् साकेला नृत्य सहित समापन हुनेछ ।

समापनको अवसरमा यायोक्खाले नेपालको राष्ट्रिय महिला फुटबलबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी खेलाडी प्रीति राई, राष्ट्रिय एथलेटिक्सको कबड्डी प्रशिक्षक पार्वती राईलाई नगद सहित सम्मान गर्ने भएको छ ।

सोही अवसरमा धरानको पर्यटकीय क्षेत्रको नक्सा डिजाइन तयार गर्न योगदान पुराएका इन्जिनियर पारसमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई र गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राईलाई सम्मानित गरिने छ ।

पत्रकार सम्मेलनमा यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईले यसपालिको साकेला पनि यायोक्खाले कोशी नाम खारेजीको आन्दोलनसँग गाँसेर मनाउन लागेको बताए । उनले भने, ‘प्रदेश १ को पुनः नामाङ्कन नभए सम्म पहिचान सहितको नामका लागि आन्दोलन जारी रहने छ ।’

दुई साताको अवधिमा यायोक्खाका वडा तह देखी गाउँपालिका तथा साकेला सांस्कृतिक स्थलहरूमा स्थानीय समुदायसँग निरन्तर सकेला नृत्य, सांस्कृतिक कार्यक्रम, पूजा अर्चना सहित मनाइने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

यायोक्खाका जिल्ला सचिव नवीन राईले कार्यक्रमको तालिका बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै सुनसरी जिल्लाको धरान, तरहरा, इटहरी, पकली, प्रकाशपुर, वराहक्षेत्र, भरौल, रामधुनी, चक्रघट्टी लगायतका सकेला धार्मी थान तथा नृत्यस्थल विवरण प्रस्तुत गरे ।

Kirat Rai Yayokha 2