धरान : जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरीहरूमा पठन संस्कृति प्रोत्साहित गर्न ‘द लाइब्रेरी क्याफे’ नामको पुस्तकालय पनि निर्माण गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरबाट शुक्रवार बिहान परिसरमा नवनिर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यानसँगै लाइब्रेरी क्याफेको उद्घाटन गरिएको छ ।

त्रियुगा नगरपालिका प्रमुख वसन्तकुमार बस्नेतको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरले मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति, सतमार्ग र सदबिबेक मा हिँड्न अभिप्रेरित गर्ने बताए ।

उनले साथै रचनात्मक सोचले निर्माण गरिएको लाइब्रेरी क्याफेले प्रहरी र नागरिक बिचको सम्बन्धलाई नजिक बनाउन सेतुको भूमिका निर्वाहका साथै पठन पाठनमा रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले लाइब्रेरी क्याफेको निर्माण  एउटा नयाँ परिकल्पनाले साकार स्वरूप भएको बताए । लाइब्रेरीबाट प्रहरी कर्मचारीहरूले ज्ञानगुनका कुरा हासिल गर्ने विश्वास व्यक्त गरे ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता क्याम्पस प्रमुख डा. कैलाश कुमार राई, नगरपालिका उपप्रमुख महेश्वरी राई, पत्रकार महासङ्घ सभापतिले भरत खड्काले शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा प्रमुख अतिथि कुँवरद्वारा उत्कृष्ट प्रहरी कर्मचारी, प्रहरीका सहयोगीलाई प्रशंसा पत्र एवं ८० वर्ष माथिका पूर्व प्रहरीहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

police-caffee-2