धरान : मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङले स्थानिय मजदुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

उनले केराबारी-८ स्थित गान्धी ट्रेडर्सका मजदुर ५० वर्षीय पर्शुराम कार्कीलाई कुटपिट गर्दा उनी घाइते भएका छन् । घाइते कार्कीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

कुटपिट गर्दा कार्कीको देब्रे कानमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका साथी लिलानाथ घिमिरेले बताए ।

पसलमा गाडिबाट प्लाइउड झार्ने क्रममा बिहीबार साँझ सामान्य वादविवाद भएको थियो । सोही क्रममा गाउँपालिका अध्यक्षले मिरिङ्चिङले एक्कासि अपशब्द प्रयोग गर्दै कुटपिट गरेको घाइते कार्कीले बताए ।