धरान : नेपालका आदिवासी जातिको पहिचान भाषा, संस्कृति, संस्कार संरक्षणका लागि देशमा गणतन्त्र आएपछि राज्यले लक्षित वर्गका बजेट छुट्याउन थालेको धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघाले बताएका छन् ।

उनले त्यसको सदुपयोग गरेर भाषा, लिपि, संस्कृतिको संरक्षण गर्न जातीय संस्थाहरूलाई आग्रह गरेका हुन । धरानमा मङ्गलवार सुरु भएको किरात सिरिजंगा लिपि, लिम्बु भाषा प्रशिक्षण कार्यक्रममा उनले भने ‘भाषा, लिपि हराए पहिचान मात्र होइन हाम्रो अस्तित्व नै समाप्त हुन्छ ।’

राज्यले दिएको त्यो अधिकारको उपयोग गर्न पछि परे समुदायको उत्थानमा पछि पर्ने मात्र होइन साधन श्रोतबाट समेत बञ्जित रहनु पर्ने उनले बताए ।

चुम्लुङ केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले भाषा, लिपी नै आदिवासीको संस्कृतिको श्रोत भएको बताए । लिम्बु समुदायको मौलिक संस्कृति मुन्धुममा आधारित रहेकोले मुन्धुम बुझ्न भाषा जान्न जरुरी भएको उनको भनाई थियो ।

जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले प्रदेशमा लिम्बु र मैथिली सरकारी कामकाजको भाषामा लागु गर्न सिफारिस भए पनि प्रदेश सरकारले लागु नगरेकोले अब कोशी नाम खारेजीसँगै भाषा आन्दोलन पनि गर्नुपर्ने बेला भएको बताए ।

केन्द्रीय सदस्य सङ्गीता सुब्बाले मातृभाषा, संस्कृतिको पुनर्जागरणमा महिलाको भूमिका महत्त्वपूर्ण भएकोले महिलाहरूलाई अग्रसर हुन जरुरी भएको बताउँदै चुम्लुङले महिलालाई अग्रसर बनाउने कार्यक्रम ल्याउन जोड दिइन् ।

धरान उपमहानगरपालिकाको लक्षित वर्गको बजेटको सहयोगमा ७ दिने प्रशिक्षण सञ्चालन भएको हो । भाषा, लिपि शिक्षक द्वय स्वर्णिमहाङ फोम्बो र सुमित्रा लिम्बुले प्रशिक्षण सञ्चालन गर्दैछन ।

प्रशिक्षार्थीलाई साता दिनमा सिरिजंगा लिपिमा वाक्य लेख्न सक्षम बनाउने प्रशिक्षक फोम्बोले बताए । उद्घाटन कार्यक्रम चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको थियो । सञ्चालन  बालकृष्ण लिम्बुले गरेका थिए ।