इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ मा एक महिलाको हत्या भएको छ । गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव बिहीबार बिहान घरभित्र भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मनमायाकी छोरीले बिहान कोठाभित्र शव देखेपछि प्रहरीलाई खबर गरेकी हुन् ।

मृत मनमायाका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार छन् । घटना लगत्तै श्रीमान् बेपत्ता हुनुले पनि थप शङ्का उब्जाएको प्रहरीले जनाएको छ ।

सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको बताउँदै डिएसपी बस्नेतले कम्मरदेखि माथिको भाग नग्न अवस्थामा रहेको जानकारी गराए ।

मनमायाका छोरा वैदेशिक रोजगारमा र छोरीको विवाह भइसकेको हुँदा घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएको प्रहरी जनाएको छ । डिएसपी बस्नेतले भने, "पदमबहादुरले राति ८ बजेतिर छोरीलाई फोन गरेर ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भनेर फोन गरेका थिए। बिहान घर गएर हेर्दा मृत अवस्थामा आमालाई भेटेकी थिइन्। बुवा भने फरार भइसकेका थिए ।"

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।