धरान : मादक पदार्थ खाएर घर आएको झड्कला छोराले हिजो आइतबार इलाममा आफ्नो सौतेनी आमालाई बाम्फोकले काटेर बीभत्स ढङ्गमा हत्या गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलामको माई नगरपालिका-२ दिपु डाँडामा सौतेनी आमालाई धारिलो हतियार बाम्फोकले प्रहार गरी हत्या आरोपमा छोरा २१ वर्षीय सन्देश दियालीलाई प्रहरीले पक्राउ गरेको हो ।

राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका दियालीले घरायसी विवादको क्रममा सौतेनी आमा ३१ वर्षीय नेत्र माया खवासलाई धारिलो हतियार बाम्फोक प्रहार गरेर दाहिने हात पूर्ण रूपमा छिनाएका थिए ।

हात छिनाएपछि टाउको काटिने गरी बाम्फोक प्रहार गरी गम्भीर चोटका कारण नेत्रमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी चौकी दानबारीबाट घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा संलग्न दियालीलाई धारिलो हतियार सहित नियन्त्रणमा लिएको छ । उक्त हत्याको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।