इटहरी : इटहरीमा खानेपानी अभाव हुँदै गएको छ । इटहरी-५ को बोरिङबाट धमिलो पानी आएकोले पानी आपूर्तिमा समस्या देखिएको हो ।

इटहरी खानेपानी उपभोक्ता संस्थाले सूचना प्रकाशित गर्दै मितव्ययी बन्न आग्रह गरेको छ । खडेरीको कारण सतहको पानी घटेकाले समस्या देखिएको उल्लेख गरिएको छ ।

मंगलबार प्रकाशित सूचनामा भनिएको छ, 'बिद्युत् आपूर्तिमा अनियमितता, न्यून भोल्टेजको बिद्युत्, लामो खडेरीका कारण सतहको पानी घट्नु लगायतका कारणबाट समेत पानी उत्पादनमा कमी आइ धारामा नियमित पानी नआएको, माथिल्ला तलामा पानी नचढ्ने गरेको ब्यहोरा अनुरोध छ ।'

बिग्रेको पम्प तत्काल पुनस्थापनाको कार्य भइरहेको तथा पानी आपूर्तिलाई व्यवस्थित बनाउने कार्य भइरहेको बताइएको छ । खानेपानीलाई निर्माण कार्य, करेसाबारी, बाटो लगायतका ठाउँहरूमा प्रयोग नगरी खाने पिउने लगायतका कार्यमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।