विराटनगर : महानगरका सडकमा छाडा डुलिहिँड्ने तथा सामुदायिक कुकुरहरूको बढ्दो सङ्ख्याले रेबिजको जोखिमका साथै फोहर मैला नियन्त्रण गर्न महानगरपालिकाले बन्ध्याकरण गर्न सुरु गरेको छ ।

महानगरपालिकाले सहारा एनिमल केयरसँगको सहकार्यमा सहरका सडकका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो ।

सहरका छाउरी कुकुरहरू नियन्त्रणमा लिएर विराटनगर-५ सहारा एनिमल केयरमा पुराई शनिवारदेखि बन्ध्याकरण गर्न थालिएको छ । विराटनगरका वडाहरूबाट सामुदायिक कुकुरलाई केयर सेन्टरमा बन्ध्याकरणका साथै रेबिजको खोप समेत लगाइएको मेयर नागेश कोइरालाले बताए ।

उनले भने, ‘सामुदायिक कुकुरका कारण मोर्डिङ वाक, इभिनिङ वाकमा हिँड्नेहरूलाई जोखिम बढेको छ ।’ सडक तथा सामुदायिक कुकुरको सङ्ख्या वृद्धि नहोस् भनेर यसअघि पनि महानगरपालिकाले बन्ध्याकरण शिविर सञ्चालन गरेको मेयर कोइरालाले बताए ।

वडा ५ मा डा. रश्मि थापाको अग्रसरतामा १० कट्ठा जमिन लिजमा लिएर कुकुरका लागि अस्पताल सुरु गरिएको छ ।

सोही स्थानमा आउँदो असार पहिलो हप्तासम्म छाउरी कुकुरको बन्ध्याकरण गरिनेछ । असारसम्म करिब २ सय कुकुरको बन्ध्याकरण गरी रेबिजको खोप लगाउने लक्ष्य राखिएको महानगरको पशुपंशी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

कुकुरको बन्ध्याकरण गर्न चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । नियन्त्रणमा लिएको कुकुरलाई अस्पतालमा एक दिन राखेर मात्रै बन्ध्याकरण गरिनेछ ।

बन्ध्याकरणपछि पनि पोसिलो खानेकुरा खुवाएर दुई दिन राखिनेछ । सवारी साधनबाट जोगाउन बन्ध्याकरण गरिएका कुकुरको घाँटीमा टल्किने बेल्ट समेत बाँधिने डा. रश्मि थापाले बताइन् ।  उनले भनिन्, ‘विराटनगरलाई जनावरमैत्री सहर बनाउन अभियान सञ्चालन सुरु गरेकी छु ।’

उद्घाटन कार्यक्रममा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा ५ का अध्यक्ष सन्तोष न्यौपाने, पशुपक्षी शाखाका प्रमुख शुभ नारायण यादव, सहारा एनिमल केयरकी प्रमुख डा.थापा सहभागी थिए ।