धरान : इलामको माङसेबुङ-४ रबी-दमक सडक खण्डमा हिजो मङ्गलवार का ।३७ प ९२८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खस्दा घाइते भएका चालक भोजपुर खावाका ५७ वर्षीय महेशकुमार राईको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

हिजै साँझ ५ बजे ओखलढुङ्गाको चम्पादेवी-७ मा लु ३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा ट्र्याक्टरमा सवार सिद्धिचरण नगरपालिका-७ का २१ वर्षीय फुर्तेम्वा शेर्पाको घटना स्थलमै मृत्यु भएको छ ।

घट्नामा घाइते ट्याक्टर चालक मोलसङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भइरहेको छ ।

मङ्गलवारै राती १० बजे उदयपुरगढी-७ मदन भण्डारी लोकमार्गमा ग १ ख ४७५३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भई ट्रक चालक चितवन रापती नगरपालिका-६ का २८ वर्षीय सन्देश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते चालक चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्बन्धमा सम्बन्धित प्रहरीले थप अनुसन्धान भइरहेको छ ।