धरान : भोजपुरको षडानन्द नगरपालिका-२ की ८५ वर्षिया वृद्धालाई पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा हाल नेकपा वैद्य समूहमा आबद्ध टेम्केमैयुङ-१ का ३७ वर्षीय सुमित भन्ने सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार गत आइतबार ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक जना फरार भएको प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय दिङ्ला र इलाका प्रहरी कार्यालय सापाङको प्रहरी टोलीले लुटपाट भएकै बेलुका ८ बजे जङ्गलमा ट्याम्केमैयुङ गाउँपालिका-१ का ३७ वर्षीय सुमित भन्ने सुमन परियारलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्यागेजिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैयाँ साथ सुनका गरगहना समेत बरामद गरेको छ ।

परियार नेकपा विप्लव समूहबाट नेकपा बहुमत समूह हुँदै हाल वैद्य समूहमा आबद्ध रहेका कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

परियार २०७६ माघ २१ गते सङ्गठित अपराध, आपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसीबी आगजनी, राज्यविरुद्धको कसुर लगायत ५ वटा मुद्दामा कैद सजाय भुक्तान गरी २०८० भदौमा कारागारबाट छुटेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।