धरान : मिर्गौला पीडित गायक नवराम राईको उपचारका लागि बेलायतबाट थप २ लाख ३६ हजार ५ सय ६० रुपैयाँ सहयोग प्राप्त भएको छ । उक्त रकम हाल युकेमा बसोबास गर्दै आएका धरान १७ र १८ हाम्रो रत्न चौक परिवारबाट प्राप्त भएको हो ।

रकम हाम्रो रत्न चोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ का वडाध्यक्ष, समाजका सल्लाहकार नरेन्द्रकुमार राई, प्रवीण, वालकुमार राई, उपाध्यक्ष तारा राई, शुक्र राई, सचिव नवीन राईले शुक्रवार गायक राईको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।

सहयोग रकम रत्न चोकका हाल युके निवासी पदम राईको नेतृत्वमा सङ्कलन गरिएको बताइएको छ ।

गायक राईको दुवै मिर्गौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार गायक राईले हप्तामा दुई पटक डायलिसिस गर्न पर्ने भएको छ । उनलाई थप उपचारको लागि आर्थिक समस्या परेकोले सार्वजनिक सहयोगको याचना गरेका छन् ।

लामो समय सङ्गीत क्षेत्रमा लागेका उनले करिब डेढ दर्जन गीत आफै गाइसकेका छन् भने केही गीतमा सङ्गीत भरेका छन् ।