धरान : स्वयम्भू चैत्य महाविहार धरान १२ मा गुँला पर्वको समापन कार्यक्रम सम्पन्न भएको छ । विशेष गरी बौद्ध धर्मावलम्बी नेवारहरूले यो पर्व एक महिनाभर मनाउने गर्दछन् । श्रावण शुक्लका प्रतिपदादेखि सुरु भएको यो पर्व भाद्र शुक्ल प्रतिपदा यो पर्व समापन भएको हो ।

भाद्र २९ गते, स्वयम्भू चैत्य महाविहार धरान-१२ श्रद्धेय अनागारिका आभासवतीज्यूबाट गुँला धर्म देशना गरिएको थियो । महिनाभर पञ्चशील र अष्टशीलको बस्नेहरूले आज आफ्नो व्रतको समापन गरेका थिए ।

नेपाल संवत् अनुसार नवौँ महिनालाई नेवा: भाषामा गुँला महिना भनिन्छ । नेपाल भाषामा 'गुँ' को अर्थ 'नौ' र 'ला' को अर्थ महिना भएकाले नेपाल सम्बत्को नवौँ महिनालाई नेवा: भाषामा गुँला महिना भनिन्छ ।

यस महिना भर मनाइने हुनाले यस पर्वलाई गुँला पर्व भनिएको हो । भगवान् बुद्धले बुद्धत्व ज्ञान प्राप्त गर्नु भएको पवित्र महिनाका रूपमा महिनाको रूपमा यस महिना लाई लिने गरिन्छ । यस पर्वमा भगवान् बुद्धप्रति आस्था प्रकट गर्ने र बुद्ध शिक्षा लाई पालना गरिने गरिन्छ । प्राय: जसोले यस महिनाभर अष्टशील पालना गर्ने गर्दछन् ।

यसपर्वमा स्वयम्भू चैत्यका साथै बौद्ध विहारहरूमा गुँला बाजा बजाउँदै परिक्रमा गरेर यो पर्व सुरु गरिन्छ । दिवांगत भएका आफन्तको सुखावती भुवनमा बास परोस् भन्ने कामना गर्दै चैत्य विहारहरू परिक्रमा गर्दछन् । यसो गर्दा मनमा शान्ति तथा एक आपसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख शान्ति कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।

बुद्ध विहारमा बुद्ध पूजा गर्ने, भिक्षु तथा गुरुमाहरूबाट प्रवचन सुन्ने, दान गर्ने, पञ्चशील तथा अष्टशील लिने गरिन्छ । प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, झुटो नबोल्ने, व्यभिचार नगर्ने, मादक पदार्थ आदि सेवन नगर्ने पञ्चशीलमा पर्दछन् भने पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ ।

अपराह्न पछि ठोस आहार सेवन गर्ने, अग्लो विलासी ओछ्यानमा नसुत्ने, नाच गीत वाद्यवादन रमाइलो नगर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचार्य बस्ने जस्ता नियम पर्दछ ।