धरान : विराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट झन्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजनिक गरेको छ ।
युरेनियम जस्तो पदार्थ लिई विराटनगरको ठुल्दाई होटलमा केही व्यक्तिहरू बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ वर्षीय शिव शङ्कर पासवान, धनपालथान गाउँपालिका–४ का ३७ वर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका–७ का ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलीप कुमार शर्मा, विराटनगर–१२ का ४६ वर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका–७ सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका–९ खोटाङका ३२ वर्षीय किरन राई र धनपालथान गाउँपालिका–७ का ४४ वर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यसै गरी विराटनगरकै दुधफारममा समेत केही व्यक्तिहरू रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गण्डकी गाउँपालिका–८ गोरखाका ४५ वर्षीय जीवन गुरुङ, मङहा नगरपालिका–६ महोत्तरीका, ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका–१२ महोत्तरीका ३० वर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका–३ मोरङका ५५ वर्षीय रवीन्द्र गच्छदार, बागमती गाउँपालिका–५ मकवानपुरका ३६ वर्षीय दीपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका–३ महोत्तरीका ४९ वर्षीय उमेश प्रसाद यादव र कमलामाई नगरपालिका–५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


































































