धरान : धरानका मेयर हर्क साम्पाङले धरानको खानेपानी समस्या समाधानका लागि गरिरहेको अभियानमा देश विदेशबाट पनि साथ सहयोग पाइरहेका छन् ।
मंगलबार युकेमा रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले १ लाख ६ हजार रुपैयाँ बरावरको ६ इन्चे पाइप मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा विष्णुकुमारी चेम्जोङ थेगिमको भतिजी आशा लिम्बुले मेयर साम्पाङलाई पाइप हस्तान्तरण गरेकी हुन् । राम्रो काम भए अझै पनि युकेबाट आफूले मेयर साम्पाङलाई सहयोग गर्न सक्ने विष्णुकुमारीले बताएको उनको आफन्तले बताए ।
मेयर साम्पाङले प्राप्त पाइपहरू अरू ठाउँ पकुवा खोलामा प्रयोग नगर्ने आपगाँछीस्थित खर्दु खोलाको मुहानबाट पानी ल्याउन प्रयोग गरिने बताए । धरानमा सधैँ खानेपानीको समस्या हुने भएकोले धरानको खानेपानी समस्या समाधानको अभियानमा देश विदेशमा हुने सबैले साथ सहयोग गरेकोमा आफूलाई ज्यादै खुसी लागेको बताउँदै धरानमा यस पटक खर्दु खोलामा पानीको पोखरी बनाएर पानी सङ्कलन गर्ने आफ्नो योजना रहेको समेत बताए ।
त्यहाँ सधैँ पानी रहने र दबिएर तालतलैया र शंकरबेली लगायतका स्थानमा पुगेर सतहमा निस्किने आफ्नो अनुमान रहेकोले सो क्षेत्रमा पोखरी बनाएर मङ्सिरको सङ्लो पानी जम्मा गरेर फिल्टर गरेर चैत वैशाखमा धरानमा वितरण गर्ने योजना रहेको बताउँदै यसमा सबैले साथ सहयोग गर्न पनि आग्रह गरे ।


































































