धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका नर्स,कर्मचारी सँगै बिरामी र बिरामी कुरुवा सहित आज १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज बिहान धरान १८ ठेगाना उल्लेख गरेर धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा रिपोर्ट आएको थियो । पछि बुझ्दा धरान १८ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरतहरू रहेको बुझिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए ।
कोरोना संक्रमित हुनेहरूमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एनआइसियुका एक जना नर्स, सेन्ट्रल ल्याबको वायोक्यामेस्टिमा कार्यरत एक जना ४६ वर्षीय प्राविधिक, उनको १८ वर्षीय छोरा र १३ बर्षीया छोरी, अर्को २४ बर्षीया नर्स, प्रतिष्ठानको सर्जरी वार्डको हेल्परका ४१ बर्षीया श्रीमती गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इ एरियामा आइसोलेट गरेर राखिएका एक बिरामीमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यसै गरी गाइनो वार्डमा पनि आइसोलेट गरेर राखिएको एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको छ । उनीहरूलाई कोभिड अस्पताल स्थानान्तरण गरिने तयारी भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीको कनट्र्याक्ट ट्रेसिङको क्रममा स्वाब लिइएका ४ जना कुरुवाको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यसअघि गाइनो वार्डमा २ जना महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मा उनीहरूका ७ जना कुरुवाको स्वाब लिएर परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूको एन्फा क्वारेनटिनमा स्वाब सङ्कलन गरिएको थियो । एन्फामा नै रहेका कुरुवाहरू सबै धरान बाहिर २ नम्बर प्रदेशको भएकोले सम्बन्धित पालिकामा आइसोलेसनमा राख्न पठाउने तयारी भइरहेको बताइएको छ ।
यसै गरी धरान १८ बुद्ध चौकको एक होटलमा कोरोना संक्रमित बिरामी बसेकोले होटल सञ्चालकमा समेत कोरोना सङ्क्रमण भए पछि कनट्र्याक्ट ट्रेसिङको क्रममा होटल आसपासकाहरु गरी ४४ जनाको गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले जानकारी दिएका छन् ।


































































