इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) चुनावी अभियानमा होमिएका छन् । फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । चुनावी अभियानको क्रममा उनले धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा बुझाए । उनीसँगै १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले समेत राजीनामा दिए । भट्टराई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुनसरी क्षेत्र नम्बर १ को उम्मेदवार भए ।
खानेपानीको मुख्य मुद्दा सहित स्थानीय तहको निर्वाचनमा होमिएका साम्पाङले श्रमदान अभियान चलाए । विगतमा कम्युनिस्टको गढ मानिएको धरानमा स्वतन्त्र साम्पाङ विजयी भए । श्रमदान मार्फत खानेपानी ल्याएर धराने जनतालाई खुवाउने उनको अभियानमा नागरिकले साथ दिए । विदेशमा रहेका नेपालीले समेत साम्पाङको अभियानलाई सहयोग गरे । 
भौतिक, जिन्सी र नगद सबै सहयोग पाएका साम्पाङले धरानमा खानेपानीको अभाव टार्न सकेनन् । श्रमदान अभियानको लागि सङ्कलित रकमको हिसाब समेत सार्वजनिक नगरेका उनले मेयरको कार्यकाल पनि पुरा गरेनन् । निर्वाचन आयोगले मेयर पदमा उपनिर्वाचन हुनसक्ने सङ्केत गरिसकेको छ ।
हाल एसियाली विकास बैङ्कको सहयोगमा सम्पन्न खानेपानी आयोजनाकै भरमा धरानको खानेपानी आपूर्ति भइरहेको छ । खानेपानी बोर्डको कार्यालयका अनुसार प्रतिदिन ३ करोड लिटर पानी आवश्यक पर्छन् । हाल लगभग २ करोड ५० लाख लिटर मात्र पानी उपलब्ध छ । त्यसमध्ये साम्पाङले सुरु गरेको अभियानबाट दैनिक २० लाख लिटर पानी थपिएको छ। जुन धरानको लागि पर्याप्त छैन। 
खानेपानी बाहेक धरानले व्यापार पलायनको समस्या भोगिरहेको छ। व्यावसायिक चहलपहल कमजोर भएपछि धरानका व्यापारीहरू अन्य सहरमा आकर्षित बनेका छन् । पूर्वी पहाडको व्यापारिक हब मानिएको धरानले पछिल्लो एक दशक देखि व्यापार कमजोर बन्दै गएको छ ।
२०७४ को निर्वाचन सम्म एमालेको गढ नै थियो धरान । नेपाली काँग्रेसले लामो समय देखि नेतृत्व पाउने सम्भावना थिएन । २०७५ साउनमा तत्कालीन मेयर तारा सुब्बाको निधन भयो । त्यसपछि एमालेबाटै निर्वाचित उपमेयर मञ्जु भण्डारीले एकबर्ष ४ महिना कार्यवाहकको जिम्मेवारी सम्हालिन् ।
२०७६ मङ्सिरमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राई विजयी भए । त्यसपछिको दुई वर्ष ४ महिनाको कार्यकाल राईले नेतृत्व गरे । भण्डारीले नेतृत्व गर्दा सुरु भएको रक गार्डेनलाई राईको नेतृत्वमा बिपी पार्कको रूपमा विकास गरियो । धरान १३ ओसो ध्यान केन्द्र नजिकै ढुङ्गामा मूर्ति कुँदेर पार्टी निर्माण गरिएको थियो । जहाँ बिपी कोइरालाको पूर्ण कदको सालिक राखिएको छ। साम्पाङ मेयरमा निर्वाचित भएसँगै त्यस क्षेत्रलाई श्रम संस्कृति पार्कको रूपमा विकास गरिएको छ । 
साम्पाङले मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार त बने तर समस्या ज्यूका त्युँ छन् । धरानमा पानी खुवाउने मुद्दा बोकेर मेयरमा विजयी भएका उनले आफ्नो बाचा पुरा नगरी प्रधानमन्त्री दावी सहित चुनावमा हाेमीएका छन् । संसदीय व्यवस्थामा प्रधानमन्त्री बन्न बहुमत प्राप्त गर्नुपर्ने भएपनि साम्पाङले प्रधानमन्त्री बन्ने ढिपी गरेका छन् । 
सामाजिक सञ्जाललाई अत्यधिक उपयोग गर्ने गरेका उनले माटो चुनाव चिन्हबाट चुनाव लड्ने छन् । राजनीतिक दललाई गाली गरेर चर्चित बनेका साम्पाङ आफै श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । 
माओवादी सशस्त्र द्वन्द्वको समयमा नक्कली माओवादी बनेर पैसा उठाएको आरोपमा उनी कारबाहीमा परेका थिए । पारदर्शिता र भ्रष्टाचार विरोधी अभियान चलाएका उनले श्रम अभियानमा सङ्कलन भएको सहयोगको हिसाबकिताब सार्वजनिक गरेका छैनन् । सङ्घीय सरकारसँग पानीको माग गर्दै रित्तो गाग्री बोकेर सिंहदरबार पुगे । 
धरानको समस्या समाधान गर्न तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव ६ अर्बको आयोजना सम्झौता गर्न धरान नै पुगे । यादव धरान आएको समयमा साम्पाङ सम्पर्कमा आएनन् । सप्तकोसीको पानी लिफ्टीङ गरेर धरान ल्याउने योजनामा धरान उपमहानगरपालिकाले १५ प्रतिशत योगदान गर्नुपर्ने सर्त राखिएको थियो । धराने जनतालाई ऋणमा नडुबाउने भन्दै साम्पाङले सम्झौता गर्न मानेनन् । अहिले फेरी सप्तकोसीको पानी ल्याउने बाचा सहित पुनः चुनावी अभियानमा छन् उनी ।  
ठेट नेपाली शब्द प्रयोग गरेर लोकप्रिय बनेका उनले त्यसैको बलमा आलोचनमाथि आक्रामक बन्ने गरेका छन् । यसअघि साम्पाङको समूहले पत्रकार गोपाल दाहाललाई ज्यान मार्ने धम्की दिएको थियो । पत्रकार दाहाल माथि बारम्बार धम्की आएपछि उनी काठमाडौँ पलायन भएका छन् । 
पूर्ण कार्यकाल मेयर चलाउन नसकेका उनी प्रधानमन्त्री बन्ने सपना बोकेर अगाडी बढेका छन् । मिडिया र आलोचक प्रति आक्रामक साम्पाङले अदालत र अख्तियारलाई समेत चेतावनी दिने गरेका छन् । खानेपानी समस्या समाधानमा भन्दा खानेपानी समस्या देखाएर राजनीति गर्नमा केन्द्रित छन् साम्पाङ । निर्वाचन आयोगले भने अनुसार धरान उपमहानगरपालिकामा पुनः निर्वाचन भए त्यही खानेपानीको मुद्दा प्रमुखताका साथ अगाडी आउने देखिन्छ ।