धरान : राजनीतिक उतार–चढावका कारण केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सुरु हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

सोमबार धरानमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी आयोजकले दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन हुनेछन्।

नेपाल प्रहरी विद्यालयका प्रतियोगिता संयोजक सुरेश कुमार हायुले प्रतियोगितामा धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। डिआइजी कप फुटबल प्रतियोगिता २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि राजनीतिक कारणले छैटौँ संस्करणपछि रोकिएको थियो।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान ९रेड र ब्लु०, प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय धरान, ज्ञानोदय माध्यमिक विद्यालय धरान, माउन्ट हर्मन एकेडेमी धरान, डिपोट सेकेण्डरी स्कुल धरान, निधी सेकेण्डरी स्कुल झापा, वाल्मिकी एजुकेसन फाउन्डेसन झापा, पिनाकल ज्ञान मन्दिर मोरङ, दिल्ली पब्लिक स्कुल मोरङ, दिल्ली पब्लिक सेकेण्डरी स्कुल, बालिमकी एमएस मोरङ, आदर्श इङ्लिस स्कुल मोरङ, सिद्धार्थ सेकेण्डरी स्कुल मोरङ तथा सफल सिद्धार्थ एकेडेमी मोरङ सहभागी छन्।

प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ र उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। व्यक्तिगत विधामा बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ।

विजेता टोलीले प्राप्त ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनुपर्नेछ भने ट्रफीको सट्टामा रिप्लिका ट्रफी प्रदान गरिनेछ।