धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित नेपालकै पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिता ललित अम्बर फुटबल कप, दिलकुमार प्लेट च्याम्पियनसिपको २० औँ संस्करण आउँदो मंसिर २५ गते देखी हुने भएको छ ।
डिपो स्कुलले बुधवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । स्कुलले २०६२ साल देखि प्रतियोगिता सुरु गरेको हो ।
कक्षा ५ सम्मका १२ वर्ष उमेरका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने ‘डिपो कप कक्षा ५ सम्मका बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने,विद्यालयहरूबिच आपसी सद्भाव कायम गर्ने तथा ग्रास रुट स्तरमै खेलाडी उत्पादनमा योगदान गर्ने विद्यार्थीहरूले पहिलो संस्थागत फुटबल प्रतियोगिता हो ।’
स्कुल व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकले साना उमेरका विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गराउन र उनीहरूमा निहित खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्राचार्य राजकुमार राईले सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरूलाई मात्र प्राथमिकताका आधारमा प्रतियोगितामा सहभागी गराइँदै आएको बताए । उनले भने ‘अघिल्ला प्रतियोगितामा सहभागी भए पनि ढिलो आउने स्कुल प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुन सक्छन् ।’
प्रतियोगितामा पहिलो खेलमा पराजित हुने विद्यालयले प्लेट च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्नेछन् ।
डिपो कप विजेताले रनिङ शिल्ड सहित नगद ११ हजार १११ रुपैयाँ पुरस्कार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले नगद ७ हजार १११ रुपैयाँ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार १११रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ ।
प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार १११ रुपैयाँ रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । प्लेट रनर अप ले नगद २ हजार१११ रुपैयाँ सहित रनिङ शिल्ड प्रमाणपत्र पाउने भएको छ ।
यस अघि १९औँ संस्करणमाको विजेता नेपाल प्रहरी स्कुल धरान १४ र उपविजेता डिपो मावि ‘क’धरान –१८ बनेको थियो भने इमानुयल मावि धरान –१७ तेस्रो स्थानमा रहेको थियो । प्लेट च्याम्पियनको उपाधि जोलसाया स्कुल धरान ११ ले हासिल गरेको थियो । प्लेट उपविजेता डिपो मावि ‘ख’ धरान १८ बनेको थियो ।
प्रतियोगिता डिपो स्कुलको खेल मैदानमा हुने प्रतियोगिता सञ्चालन हुने भएको छ भने उक्त प्रतियोगिताका लागि अनुमानित कुल ५ लाख ५८ हजार ३२१ रुपैयाँ खर्च हुने जानकारी दिइएको छ ।

































































