धरान : सरकारले राजमार्गमा स्थानीय तहले पटके कर असुल्न रोक लगाए पनि धरान उपमहानगरपालिकाले पूर्वाधार सडक उपयोग सेवा शुल्कको नाममा चालु आर्थिक वर्ष २०८२/०८३ देखी पुनः असुल्न वडाहरूमा परिपत्र गरेको छ ।
नगर प्रमुख हर्क साम्पाङको प्रस्तावमा पुनःअसुल गर्ने भएको निर्णयले शुल्क यसअघिको भन्दा ५० प्रतिशत सम्म वृद्धि समेत गरिएको छ । उपमहानगरपालिकाको उक्त निर्णयको सरोकारवालाहरूले तीव्र विरोध गरेका छन् ।
अभियन्ता हुँदा कर र खानेपानीको महसुल समेत जनताले तिर्न नसक्ने भनी जुलुस, विरोध प्रदर्शन गरेका साम्पाङले नगर प्रमुख बनेपछि मनोमानी ढङ्गले बढाएको भनी विरोधको आवाज सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नगर प्रमुख साम्पाङले आर्थिक वर्ष २०८०/०८१ मै पूर्वाधार सडक शुल्कको प्रस्ताव ल्याएका थिए । तर विरोधका कारण कार्यान्वयन गर्न सकेका थिएनन् । पछिल्लो वर्ष २०८१/०८२ मा कर उठाउने प्रयास गरिएको थियो ।
जनस्तरमा व्यापक असन्तोष बढेपछि २०८१ कात्तिक १२ गते गृह मन्त्रालयले राजमार्गमा स्थानीय तहले असुल गर्दै आएको ‘पटके कर’ बन्द गर्न परिपत्र गरेको थियो । मन्त्रालयको निर्देशनपछि धरान सहित स्थानीय तहहरूले उठाउँदै आएको कर रोकिएको थियो ।
चालु आर्थिक वर्षको कात्तिक २१ गतेको मितिमा प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले उक्त शुल्क असुल गर्न वडाहरूमा कर्मचारी खटाएको पत्राचार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पुनः विरोध भएको हो ।
दोहोरो कर
सङ्घीय सरकारलाई सडक उपयोग बापत कर बुझाउँदै आएकाले स्थानीय सरकारको सडक सेवा शुल्क दोहोरो कर भएको ध्यानाकर्षण गराउँदै धरान–१ का सागर प्रसाईँले सामाजिक सञ्जालमा लेखेको छन् ‘‘धरानका जनप्रतिनिधिहरू कहाँ हुनुहुन्छ ? जनतामाथि बढ्दो कर कसले बढायो ? हामीले कर तिरेका छौँ, फेरि दोहोरो कर किन ?’
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सरिन तामाङले सडक उपयोग कर खारेज गर्न माग गर्दै लेखेका छन् ‘यो स्थानीय सरकारको गलत निर्णय भएकोले तुरुन्त सच्याउन अनुरोध गर्दछु ।’
कर दरमा ५० प्रतिशतसम्म वृद्धि
उपमहानगरपालिकाले उक्त कर गत आर्थिक वर्ष २०८१/०८२ मा हलुका निजी सवारी साधनको दैनिक २५ रुपैयाँ तोकेको थियो । यसपालि त्यसमा ५० प्रतिशत वृद्धि गरी ५० रुपैयाँ कायम गरिएको छ ।
छ चक्केभन्दा बढीका ट्रक, टिपर र लहरीहरूमा अघिल्लो वर्ष १५० रुपैयाँ लिइन्थ्यो भने अहिले २०० रुपैयाँ तोकिएको छ । हेभी सवारी र टिपरको शुल्क १०० बाट १५० रुपैयाँ पुर्याएको ३३ प्रतिशत सम्म वृद्धि गरिएको छ ।
पावर ट्रेलर र साना तीन चक्के सवारीमा ६५ बाट १०० रुपैयाँ, पिक अप तथा मिनी ट्रकमा ७५ बाट १०० रुपैयाँ, पानी बोक्ने ट्याङ्करमा पनि ३३ प्रतिशत वृद्धि गरिएको छ । मोटरसाइकल र स्कुटरमा भने पहिलै दर कायम गरी दैनिक १० रुपैयाँ तोकिएको छ ।
'पुरानो निर्णय कार्यान्वयन मात्रै हो'
आर्थिक महाशाखा प्रमुख खगेन्द्र खतिवडाले यो नयाँ कर नभएको, अघिल्लो वर्ष कार्यपालिका र नगर सभाबाट पारित आर्थिक ऐन अनुसारकै शुल्क भएको बताए । उनले भने ‘गत वर्ष ठेक्का मार्फत पार्किङ शुल्क उठाउँदा विवाद भयो, त्यसपछि वडाबाट वार्षिक शुल्क असुल्ने निर्णय भएको थियो ।’
उनका अनुसार रातो नम्बर प्लेट भएको निजी हलुका सवारीको वार्षिक शुल्क भने घटाइएको छ । अघिल्लो वर्ष ४ हजार तोकिएकोमा यस वर्ष २ हजार मात्र राखिएको छ । मोटरसाइकल र स्कुटरको वार्षिक शुल्क २ सय रुपैयाँ यथावत् छ ।
वडाहरूको परिपत्र के छ ?
प्रमुख प्रशासकीय अधिकृत चौलागाईले कर सङ्कलकहरू रमेशकुमार राई, स्मृति लामा र टिकामाया श्रेष्ठलाई लेखेको पत्र सार्वजनिक भएको छ । पत्रमा सडक सेवा शुल्क सङ्कलन गर्न २०८२ कार्तिक २३ गतेदेखि अर्को निर्देशन नभएसम्म वडाहरूबाट शुल्क सङ्कलन गर्ने उल्लेख छ ।
उपमहानगरपालिका कार्यालयबाट खटाएको कर्मचारीले सङ्कलन गरेको शुल्क दैनिकरुपमा राजश्व प्रशासन महाशाखामा दाखिला गर्न भनिएको छ । उपमहानगरपालिका कार्यालयले कर असुल्न सिधै ३ जना कर्मचारीलाई वडाहरू तीन समूहमा विभाजन गरी कर सङ्कलन गर्ने जिम्मेवारी तोक्दै खटाएको छ ।
पत्रमा उनीहरूलाई निजी रातो नम्बर प्लेट भएका हलुवा सवारी साधनलाई च वर्गको वार्षिक २ हजार रुपैयाँ शुल्क सङ्कलन गर्न भनिएको छ । मोटरसाइकल ,स्कुटर निजी रातो प्लेट नम्बर प्लेटको वार्षिक २ सय रुपैयाँ कर सङ्कलन गर्न आदेश दिएको छ ।


































































