धरान : पुराना पुस्ताका पत्रकारहरूले लाहुरेका घरको चामल खाएर पत्रकारिता गरेको आक्षेप लगाएको भनी पत्रकारजन्य सङ्गठनहरूले विज्ञप्ति प्रकाशित गरेकोमा धरान-१३ सर्दु खोलामा गोर्खा चौतारी निर्माण पक्षले प्रतिक्रिया जनाउँदै उक्त गुनासो ‘हामीले हाम्रै छोराछोरी र भाइ भतिजोप्रति गरेको गुनासोलाई नकारात्मक प्रचार गरिएको’ जनाएको छ ।
गोर्खा भूपु सैनिक सङ्घ, भारत, वृटिश र सिंगापुरको संयुक्त वक्तव्यमा भनिएको छ ‘हाम्रो सानो गुनासोलाई अतिरंजीत पारामा उछालेर रोइलो काट्दै प्रेस विज्ञप्ति निकाल्नु विकास विरोधीहरूको कम हो भन्ने हाम्रो ठम्याई छ ।’
वक्तव्यमा भनिएको छ ‘त्यसो त नगरपालिका र पत्रकार बिच जे जस्तो सम्बन्ध भएपनि मूलधारको पत्रकारिता जोगाउनै पर्छ भन्ने ध्येयले हामीले निमन्त्रणा गरेका थियौँ । कार्यक्रममा निमन्त्रणा गरे पनि उपस्थित नभएका जो जो भाइ भतिजाहरू थिए, उनीहरूलाई लक्ष्यीत गरेर गरिएको गुनासोलाई सबै सञ्चारकर्मीलाई भनिएको भनेर भ्रमपूर्ण विज्ञप्ति जारी हुँदा दुःख लागेको छ ।’
वक्तव्यमा गोर्खा चौतारीको महत्त्व नबुझी राजनीतिक दृष्टिकोणले मात्र हेर्ने दलका भातृ सङ्गठनहरूमा आबद्ध सञ्चारकर्मीलाई अब आइन्दा हाम्रो संरचनाहरू र गरिने कुनै पनि कार्यक्रमहरूमा उपस्थितिको महत्त्व नहुने ठानिएको उल्लेख छ ।
वक्तव्यमा गोर्खा भूपु सैनिक सङ्घ भारतका प्रतिनिधि कर्णबहादुर गुरुङ, ब्रिटिसका प्रतिनिधि पूर्णप्रसाद लिम्बु, सिंगापुरका तारानाथ लिम्बुले हस्ताक्षर गरेका छन् ।



































































