इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले आफ्नै घरमा बसेर आवास सुविधा लिएको विवाद सतहमा आएको छ । सामाजिक सञ्जालमा मन्त्रीले घरैमा बसेर भाडा लिएको भन्ने विवाद आएपछि प्रदेशका मन्त्री देखी प्रदेश संरचनाकै विषयमा टीकाटिप्पणी सुरु भएको हो ।
मन्त्रीले घर भाडा बापत मासिक २९ हजार बुझेको र आफ्नै घरमा बस्दै आएको समाचार बाहिर आएपछि चर्चा चुलिएको हो । पत्रकारले माग गरेको सूचनामा उल्लेख गरिएको विवरण अनुसार मन्त्रीले आवास सुविधा बापत मासिक २९ हजार लिएको देखिन्छ ।
भण्डारी सुनसरीको इटहरी स्थित आफ्नै घरमा बस्दै आएका छन् । २०८१ मङ्सिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घर भाडाबापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेका छन् । आवास सुविधाबापत २५ हजार, सञ्चार सुविधा २ हजार र बिजुली–पानीबापत २ हजार गरी मासिक २९ हजार रुपैयाँ लिएका हुन् । त्यस बाहेक भण्डारीले मासिक ५२ हजार तलब बुझ्ने गरेका छन् ।
भण्डारीले बाहिर आएका समाचारको खण्डन गर्दै सत्य तथ्य सूचना सार्वजनिक गर्न अपिल गरेका छन् । मन्त्रीलाई आवासको सुविधा सरकारले उपलब्ध गराउने र त्यसमा आवास उपलब्ध नभए २९ हजार दिने गरेको उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन २०७५ को दफा ४ को उपदफा ३ मा उल्लेख भए अनुसार नै सेवा सुविधा लिएको भण्डारीको दाबी छ ।
भाडा लिएको विवाद सतहमा आएपछि शुक्रवार खण्डन जारी गर्दै उनले सरकारको खर्च जोगाएर आफ्नै घरमा बसेको र घरमा बस्दा पनि कानुनमा उल्लेख भए अनुसार पाउने खर्च मात्र लिएको प्रस्ट पारे । सुरक्षाकर्मी, ड्राइभर र स्वकीय सचिवको लागि बस्ने व्यवस्था आफैले मिलाएको भन्दै उनले अनावश्यक प्रचार नगर्न चेतावनी दिएका छन् ।
मातहतका कार्यालयबाट हुने भ्रष्टाचार र अनियमितता रोक्न अधिकतम प्रयास गरिरहेको बताउँदै भण्डारीले एक दिन सत्य उजागर हुने उल्लेख गरे । भाडामा बस्दा हुने अतिरिक्त खर्च जोगाउन घरैमा बसेको र घरमा बस्दा सरकारले दिएको न्यूनतम सुविधा स्वाभाविक रूपमा प्राप्त हुने भण्डारीको दाबी छ ।
मन्त्री फेर्ने कसरत
तथापि भण्डारी भ्रष्टाचारका अन्य प्रकरणमा भने मुछिएका छैनन् । यस बिचमा कोशीमा मन्त्री फेरबदलको चर्चा चुलिएको बेला भण्डारीलाई हटाउनुपर्ने कारणको खोजी सुरु भएको छ । एमालेकै नेताहरू भण्डारीलाई विवादमा ल्याएर हटाउने प्रयास थालिएको बताउँछन् ।
एमालेका मन्त्रीहरू फेरबदल गर्ने तयारीका बिच भण्डारीको विवाद बाहिर आएको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भण्डारीलाई यथावत् राख्ने अडान लिएका छन् । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा सँग मुख्यमन्त्री हिक्मत कार्कीले छलफल गरेर मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।
राई, खतिवडा र कार्कीले आफू निकट सांसदलाई मन्त्री बनाउन लागि परेका छन् । त्यसमध्ये भण्डारीलाई समेत फिर्ता बोलाएर उनको ठाउँ खाली गर्ने आन्तरिक तयारी भइरहेको एमालेका नेताहरू बताउँछन् । भण्डारीलाई हटाउनुपर्ने लाइनमा रहेका इन्चार्ज राईले पहाडी जिल्लाबाट आन्तरिक मामिलामा पठाउने योजना बनाएका छन् ।
बालीकालाई गाडीले ठक्कर दिएर भागेर विवादमा आएका आर्थिक मामिला मन्त्री राम बहादुर राना (मगर) भने फेरिने पक्का भएको छ । विवादमा तानिएपछि राजीनामा समेत नदिएका उनलाई पार्टीले नै फिर्ता बोलाउने भएको छ । भण्डारी र मगर मात्र हैन खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सृजना राई लाई समेत फिर्ता बोलाउन लागिएको हो ।