धरान : जेन–जी आन्दोलनका कोशी प्रदेश संयोजक उपार्जन राईले आगामी संसदीय चुनावमा जेन–जीहरूले विचार र भावनासँग मेल खाने दलहरूसँग एकता गरेर सहभागी हुनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका छन् ।

धरानमा मङ्गलवार भएको जेन–जी प्रदेश भेलामा उनले भने ‘हामीले जेन–जी आन्दोलनमा सहभागी हुँदै टाउकोमा आतङ्ककारीको बिल्ला भरेर हिँड्नुपरेको स्थिति, त्यसैले जेन्जी आन्दोलनलाई वैधता दिलाउन आफ्ना विचार र भावनासँग मेल खाने दलहरूसँग एकता गरेर आगामी चुनावमा सहभागी हुनुपर्ने आवश्यकता छ ।’

संयोजक राईले आन्दोलनको अवस्था र आगामी रणनीतिबारे धारणा प्रस्तुत गर्दै जेन–जी आन्दोलनको माग अनुसार वैधानिक रूपमा संविधान संशोधन हुनुपर्ने बताए । मुलुकलाई अग्रगामी दिशामा लैजान जेन–जी संविधान संशोधनको पक्षमा रहेको उनको भनाई थियो ।

विगतको सरकार सीमान्तकृत, दलित, गरिब, पीडित वर्ग समुदायको पक्षमा नभएकाले जेन्जी आन्दोलन आवश्यक परेको संयोजक राईले बताए । उनले भने ‘संविधान रक्षा गर्नुपर्दछ र निर्वाचनमा होमिनु पर्दछ भन्ने जेन–जीको अहिलेको मुख्य चाहना हो ।’ जेन–जीका सपना, लक्ष्य र उद्देश्य पुरा गर्ने चाहाना संविधान संशोधनबाट मात्र हुनेछ भन्ने कुरमा जेन–जी क्लियर र अडिग रहेको उनको भनाई थियो ।

बिपी प्रतिष्ठानको सभा हलमा भएको प्रदेश स्तरीय जेन्जी भेलामा कोशी प्रदेशका १४ जिल्लाबाट आएका जेन्जी प्रतिनिधिहरूले १२ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणापत्रमा मुख्य रूपमा भदौ २३–२४ गते भएको क्रान्ति र आन्दोलनको वैधानिकता सुनिश्चित गर्नु, संविधानको सम्मान र संशोधन, युवाहरूको लोकतन्त्र सुदृढीकरणमा सक्रिय भूमिका, निष्पक्ष प्रशासन, भ्रष्टाचार नियन्त्रण, नातावाद–कृपावादविहीन राजनीतिक संस्कार, सांस्कृतिक अधिकारको संरक्षणलाई प्राथमिकता दिइएको छ ।

आगामी आम निर्वाचनलाई भय रहित र सहभागीमूलक बनाउने प्रतिबद्धता घोषणापत्रमा जनाइएको छ । जेन्जी प्रतिनिधिहरूले अन्तरिम सरकारलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिवद्धता व्यक्त गर्दै, आगामी आम निर्वाचनमा सबै दललाई सहभागी हुन आह्वान समेत गरेका छन् ।

zenz