इटहरी : बङ्गलादेशमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा विजयी नेपाली खेलाडीहरू सरकारी तवरबाट बेवास्तामा परेका छन् । अक्टोबर ९ गतेदेखि ११ तारिकसम्म चलेको छैटौँ कुमुते प्रतियोगितामा सहभागिताले सम्पूर्ण खेलाडीले उपाधि हात पारेका हुन् । नेपालबाट ९ जना सहभागी भएको प्रतियोगितामा ७ जनाले स्वर्ण पदक प्राप्त गर्दा दुई जनाले रजत उपाधि हात परेका छन्।
उपाधि प्राप्त खेलाडीलाई बेवास्ता गरिएपछि शनिवार इटहरीको सोसल क्याफेमा परिचय र सम्मान गर्ने कार्यक्रम सम्पन्न भयो । प्रतियोगितामा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भुटान, जापान र भारतका खेलाडी सहभागी भएको एसियन कराँते फेडेरेशनका प्रशिक्षक सागर राउतले बताए । नेपाली खेलाडीले पाएको अन्तर्राष्ट्रिय सफलतामा स्थानीय देखि प्रदेश र सङ्घ सरकारले समेत बेवास्ता गरेको उनको भनाइ छ ।
विद्यालय तहमा अध्ययनरत छात्रछात्राले देखाएको सफलताले नयाँ पीढीमा खेल प्रतिको लगाव र मेहनत प्रभावकारी देखिएको सोसल क्याफेका सञ्चालक सञ्जन ओझाले बताए । खेलकुदले व्यक्तिगत रुचि र क्षमतालाई उजागर गर्ने मात्र नभएर समाजलाई एकीकृत रूपमा जोड्ने उनको भनाइ छ ।
प्रतिस्पर्धामा सहभागी भएकामध्ये १२ वर्षदेखि १४ वर्ष उमेर समूहको ४० केजी तौल समूहमा इटहरीका अस्टिन उप्रेती, १४ वर्षदेखि १६ वर्ष उमेर समूहको ४५ केजीभन्दा बढी तौल समूहको खेलमा रेयिन थापाले सहभागिता जनाएका थिए ।
१८ वर्ष उमेर समूहको बढी समूहको ५५ केजी तौल समूहमा सन्दीप चौधरी र १४ वर्षदेखि १६ वर्ष उमेर समूहको ४५ केजी तौल समूहमा बिन्दा तामाङले स्वर्ण पदक हात परेकी हुन् ।
१२ वर्षदेखि १४ वर्ष उमेर समूहको ४५ केजी तौल समूहमा खुसी विष्ट, सोही उमेरको ४० केजी भन्दा बढी तौल समूहमा शिल्पा श्रेष्ठ र १० वर्षदेखि १२ वर्ष उमेर समूहको ३५ केजी तौलमा श्याम चौधरीले स्वर्ण पदक प्राप्त गरे । इटहरीका सन्दीप चौधरी र राहुल हरिजनले रजत पदक जितेका छन् ।
यसअघि पनि थाइल्यान्डमा भएको कुमुते प्रतियोगितामै इटहरीबाट सहभागी भएका बिन्दा तामाङ र आशिष् हरिजनले कास्य पदक जितेका थिए । त्यति बेला विश्वका ३० देशका प्रतिस्पर्धी सहभागी भएका थिए ।



































































