धरान : हिन्दु धर्मावलम्बीहरूको पहिलो पितृ श्राद्धस्थल धरान-२० स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा पौषे औंसी धार्मिक मेलाको तयारी सुरु भएको छ ।

स्कन्द पुराणमा भगवान् विष्णुले पहिलो पटक यहीँ पितृ श्राद्ध गरेर श्राद्ध अनुष्ठानको सुरुआत गरेको उल्लेख छ । मन्दिरमा रहेको विष्णुपाउ दर्शन गर्न लाखौँ तिर्थालुहरु विष्णुपादुका आउँछन् । विष्णुपादुका पूर्वी नेपालको धार्मिक पर्यटनको प्रसिद्ध स्थल हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले सदा झैं यसपाली पनि पौषे औंसी मेलाको तयारी सुरु गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस वर्ष पौषे औँसी मङ्सिर ३ गते परेको बताउँदै उनले भने ‘विष्णुपादुका भारतको गया भन्दा पनि महत्त्वपूर्ण पितृ तर्पण स्थल हो ।’

उनले नेपालकै प्रसिद्ध धार्मिक स्थल यहाँ भए पनि स्थानीय सरकारले स्थायी पूर्वाधार निर्माणमा चासो नदिँदा मेलाका लागि वर्सेनी अस्थायी पूर्वाधार तयार गर्नु परेको गुनासो गरे । मन्दिर निर्माण समितिले अस्थायी पूर्वाधारको व्यवस्थापन आफैँ गर्दै आएको उनको भनाई छ ।

बिष्णुपादुका पौषे औँसी मेलामा पितृ श्राद्धका लागि देश, विदेशबाट वर्सेनी लाखौँ तिर्थयात्रीहरु आउने गरेका गरेका छन् ।

मेलामा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी बाटो, पार्किङ स्थलको संयोजन, भक्तजनको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालन गरिने समितिले जनाएको छ ।

टाढाबाट आएका श्रद्धालुका लागि बिश्रामालय र आवास सुविधाको पनि व्यवस्था गर्ने समितिले जनाएको छ । समितिले दीर्घकालीन रूपमा खोलाको बगर सुरक्षित गरी पार्किङ स्थल विकास गर्ने योजना अघि बढाएको बताएको छ ।