धरान : सुनसरी जिल्ला अन्तर स्कुल एन्फा यु-१४ गल्र्स/ब्वाइज फुटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा धरानको ज्वालामुखी मावि र प्रभात बोर्डिङले विजेताको उपाधि चुमेको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा पहिलो पटक सातै प्रदेशका जिल्लाहरूमा सञ्चालित प्रतियोगिताको फाइनल खेल धरान-१७ स्थित एन्फा एकेडेमीको मैदानमा भएको हो ।

फाइनलमा गल्स तर्फको उपाधि धरानको ज्वालामुखी माध्यमिक विद्यालय र ब्वाइज तर्फको उपाधि प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले उपाधि चुमेको हो ।

फाइनलमा गल्स तर्फ ज्वालामुखी मावि र भरौल बाल मन्दिर बिच ६० मिनेटको खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो । पेनाल्टी सुट आउटमा ज्वालामुखीले भरौल बाल मन्दिरलाई १३-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

ब्वाइज तर्फको फाइनल खेलमा प्रभात सेकेन्डरीले लर्डबुद्ध एकेडेमी, रामधुनीलाई ३-१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टिमलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो। उपविजेता टिमले १० हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।प्रतियोगिताको व्यक्तिगत विधामा ज्वालामुखीकी गल्स वेष्ट प्लेयर आयुषा राई र ब्वाइज तर्फ नामसाङ्ग थापा मगर घोषित भए । उनीहरूले जनही नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गल्स तर्फ ज्वालामुखीकी वेष्ट गोलकिपर निशा परियार, हाईस्कोरर सिम्रन तामाङ र ब्वाइज तर्फ प्रभात बोर्डिङका आयुष शाह घोषित भए । उनीहरूले नगद १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गल्स क्षेत्रगत चरण तर्फ वराहक्षेत्रका विजेता प्रभात बोर्डिङ धरान र उपविजेता राजाबास बोर्डिङ वराहक्षेत्र भएको थियो । इटहरी क्षेत्रबाट विजेता लर्डबुद्ध एकेडेमी रामधुनी र उपविजेता महेन्द्र मेमोरियल एकेडेमी दुहबी भएको थियो।

धरानमा भएको गल्स फुटबलमा १२ टिम सहभागी थिए । इटहरी र भरौलमा ब्वाइजतर्फ १८/१८ विद्यालय टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता भदौ १३ गतेदेखि सुरु भएको थियो । जिल्लामा विजयी टिमहरू प्रदेश स्तरीय चरणका लागि छनोट भएका छन् । सातै प्रदेशका विजेता बिच काठमाण्डौमा राष्ट्रिय फाइनल खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताका विजेताहरूलाई एन्फा सुनसरी अध्यक्ष नवीन राईले पुरस्कार वितरण गरेका थिए ।