वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई जोखिम विश्लेषण पल्स,सिटिआई सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ ।
कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको छ ।बुधवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
तालिमको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका पूर्व प्रमुख हरिबहादुर खत्री, कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका अधिकृत मनोज कार्की लगायतको आतिथ्यता रहेको थियो ।
आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुकोलागि जोखिम विश्लेषण पल्स, सिटिआई सम्बन्धी प्रयोगात्मक तालिममा सहकारीको वार्षिक योजना, वित्तीय योजना, सञ्चालक योजना तर्जुमा, सदस्य र कार्यक्षेत्र विश्लेषण, बजेट, योजना तर्जुमा, सदस्यको आर्थिक विकास परिमार्जित नीति सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गरिनेछ ।
तालिममा कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका पूर्व प्रमुख हरिबहादुर खत्री, कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका अधिकृत मनोज कार्की, नगरपालिका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले सहजीकरण गर्नेछन्।

































































