धरान: दोस्रो संस्करणको एम्स एसइई ६ के रनमा छात्रतर्फ अप्सु आङ्देङ्बे र छात्रातर्फ टिका लिम्बु प्रथम भएका छन् ।
धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समूह एम्स क्रिएटिभ ग्रुपले आज शनिवार आयोजना गरेको रनमा अप्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३० मिनेट ५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनिन् ।
छात्रतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९ मिनेट ५० सेकेण्डमा रन पुरा गर्दै तेस्रो भए ।
यसै गरी, छात्रातर्फ युनिषा कटवालले ३१ मिनेट ९ सेकेण्डमा रन पुरा गर्दै दोस्रो भइन् भने मनिका राईले ३३ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भइन् । 
एसइई क्याटोगरीका छात्रा र छात्रतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र एक हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, प्रथम हुनेले शतप्रतिशत, दोस्रो हुनेले ७५ प्रतिशत र तेस्रो हुने खेलाडी विद्यार्थीले ५० प्रतिशत छात्रवृत्ति पनि पाएका छन् । सहभागी विद्यार्थीहरूलाई भर्नामा ५० प्रतिशत छुट पाउने भएका छन् ।
रनमा ओपन क्याटोगरीमा छात्रतर्फ अमिर लिम्बुले निर्धारित दुरी १७ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै विजेता भए भने छात्रातर्फ पुष्पा लिम्बुले २२ मिनेट ५३ सेकेण्डमा पुरा गदै विजेता बनिन् । दुवै जनालाई नगद १५ सय, मेडल प्रदान गरिएको थियो । विजेताहरूलाई एम्स एकेडेमीका अध्यक्ष प्रकाश राई, कार्यक्रमका प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल सङ्घ प्रदेश कमिटी अध्यक्ष किशोर राई, अखिल नेपाल फुटबल सङ्घ सुनसरी जिल्ला अध्यक्ष नवीन राईले पुरस्कार प्रदान गरेका थिए ।
एम्स एसइई रनको निर्धारित दुरी ६ किलोमिटर रहेको थियो । चतरालाइनस्थित एम्स एकेडेमीबाट सुरु भएर छाता चौक, सिंहदेवी माछाभौडी,भानु चौक, पुतली लाइन, दुर्गा चौक,बुद्ध चोक, मङ्गलवार,कल्याण चौक, पानीट्याङकी हुँदै एम्स एकेडेमीमा नै आएर सम्पन्न भएको थियो ।
bijeta-see
run11