धरान : एसइई परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका छात्रछात्राहरूको ‘एम्स एसइई ४-के रन २०८१ प्रतियोगितामा छात्र तर्फ शिव कार्की र छात्रा तर्फ रीना खङ्ग खत्वे विजेता बनेका छन् ।

प्रतियोगिता धरान-१२ चतरालाइन स्थित एम्स एकेडेमीको एम्स क्रिएटिभ समूहले शनिवार आयोजना गरेको हो ।

दौड प्रतियोगितामा झापाका कार्कीले १३ मिनेटमा ४ किलोमिटर दुरी पार गरी विजयी बनेका हुन् । वराहक्षेत्रकी खत्वेले १९ मिनेटमा ४ किलोमिटर दुरी पार गरी विजयी भएकी छन् । उनीहरूलाई नगद ५ हजार रुपैयाँ सहित कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउने पुरस्कार प्रदान गरिएको छ ।

खुल्ला छात्रतर्फ दौड प्रतियोगितामा दीपेन्द्र सुजी १३ मिनेट २० सेकेन्डमा दुरी पार गरी दोस्रो भए भने सञ्जय राई १३ मिनेट ३६ सेकण्डमा दुरी पार गरी तेस्रो भए ।

छात्रा तर्फ २१ मिनेटमा ४७ सेकण्डमा दुरी पारी आकृति राई दोस्रो भइन् । २२ मिनेट ३६ सेकण्डमा दुरी पार गरी प्रनिता तामाङ तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेलाई ३ हजार र एक हजार रुपैयाँ सहित कक्षा ११ र १३ मा ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति पुरस्कार स्वरूप प्रदान गरिएको छ ।

छात्रतर्फ १४ मिनेट २५ सेकेन्डमा दुरी पार गरी चौथो भए भने युवराम लिम्बू १४ मिनेट ५३ सेकण्डमा दुरी पार गरी पाचौँ भए । छात्रातर्फ २३ मिनेटमा दुरी पार गरी सानु राई चौथो भइन् भने २६ मिनेटमा दुरी पार गरी अदिती झा पाचौँ भएको एम्स क्रिएटिभ समूहका अध्यक्ष अङ्कित श्रेष्ठले बताए ।

उनका अनुसार दौड प्रतियोगितामा एसइई दिएर बसेका २८० जना सहित कुल ४८० जना सहभागी थिए । एसइई दिएर बसेका विद्यार्थीहरूको स्वास्थ्यसँगै भाइचारा सम्बन्ध विकास गर्न प्रतियोगिता गरिएको उनले बताए । एम्स एकेडेमीका प्रिन्सिपल सन्तोष कोइरालाले विजेता तथा उपविजेता विद्यार्थीहरूले धरानका कुनै पनि कलेजमा छात्रवृत्ति पाउने बताएका छन् । दौडको उद्घाटन धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले गरेका थिए ।

AIMS SEE RUN 2081  2

AIMS SEE RUN 2081  3