धरान : बढ्दो शहरीकरणले धरानमा सामुदायिक तथा पारिवारिक कार्य विवाह, व्रतबन्ध, सभा समारोह सुविधाजनक पार्टी प्यालेसहरूमा आयोजना गर्ने चलन बढेको छ ।
सेवाको क्षेत्रमा बढेको आधुनिक सुविधा र प्रविधिले पुराना चलनहरू इतिहासमा सीमित बनाउने क्रम पनि बढेको छ । यसै क्रममा धरानको पहिलो सिनेमा हल धरान-१२ चतरा लाइन स्थित शिव सिनेमा परिसर पार्टी प्यालेसको रूपमा प्रयोगका लागि खुल्ला गरिएको छ ।
सिनेमा हल परिसर यसै साता देखी सभा, समारोह, विवाह, व्रतबन्धकालागि खुल्ला गरिएको हो । सिनेमा हल भवन तथा परिसरको व्यवस्थापन गरिरहेका हिराप्रसाद रिजालका अनुसार हाल सःशुल्क कार्यक्रम स्थलको रूपमा प्रयोग गर्न खुल्ला गरिएको छ । परिसरको खुल्ला ठाउँ र सिनेमा हलको भवन समेत सभा, समारोह, विवाह, व्रतबन्धका लागि भाडामा प्रयोग गर्न खुला गरिएको हो ।
तर खुल्ला परिसर, खाली भवन बाहेक आवश्यक सामाग्रीको व्यवस्था आयोजक आफैले गर्नुपर्ने उनले जानकारी दिए । रिजालका अनुसार सिनेमा हललाई पार्टी प्यालेसको रूपमा विकास गर्ने योजना अनुसार भवन परिसर सभा, समारोहका लागि खुला गरिएको हो । उनले भने ‘योजना बन्दैछ ।’ सिनेमा हल बाहिर सूचनामा लेखिएको छ ‘यो सिनेमा हलको कम्पाउन्ड भित्र, विवाह, व्रतबन्ध, सभा, समारोह आदि शुभ कार्यको लागि खुल्ला गरिएको छ । सम्पर्क नं. ९८५२०४७९६५ ।’
यसअघि धरानको दोश्रो सिनेमा हल गणेश टाकिज भानुचौक स्थित नयाँ भवनमा सरेपछि पुरानो भवनलाई अहिले ‘सुकुण्डा व्याङ्केट’ नाममा भव्य पार्टी प्यालेसको रूपमा विकसित गरिएको छ । त्यस अघि उक्त पुरानो भवनका मालिक धरान-३ का उद्योगपति कृष्णप्रसाद श्रेष्ठले उद्योग सञ्चालन गरेका थिए ।
पछिल्लो पटक शिव सिनेमा हललाई पुर्ण रुपमा पार्टी प्यालेसब नाउने कार्य अघि बढेको छ । धरानलाई आधुनिक मनोरञ्जनको युगमा प्रवेश गराउने सिनेमा हल सञ्चार आधारित मनोरञ्जन प्रविधिमा आएको अत्याधुनिक युगसँगै इतिहासमा सीमित हुने भएको छ।
शिव सिनेमाको स्थापना धरानलाई आधुनिक युगमा प्रवेश गराउने सूचकको इतिहास पनि मानिन्छ । डा. राजेन्द्र शर्माले २०१६ मा धरानमा खुलेको पहिलो सिनेमा हल शिव सिनेमा भएको उल्लेख गर्दै यसले धरानेलाई शिक्षा र आधुनिकता दिएको उल्लेख गरेका छन् ।
सिनेमा प्रविधिमा पछिल्लो समय मल्टिप्लेक्समा डिपार्टमेन्ट स्टोर, मलहरूमा सञ्चालन गर्ने चलन बढेको छ । त्यसले पुरानो प्रविधि विस्थापित मात्र भएको छैन, दर्शकको सिनेमा हेर्ने सोचाई पनि बदलिएको छ ।
सिनेमाहरूलाई डिपार्टमेन्ट स्टोर, पार्कको रूपमा विकासीत गर्नुपर्ने अवस्थामा पार्टी प्यालेसको रूपमा दिइनु पनि समयको मागकै रूपमा हेर्न सकिन्छ ।


































































