• अनुसा थापा
२०८० सालले धेरै सर्वसाधारण जनतालाई रुवायो र डुबायो । धेरेले आत्महत्या गरे वा गर्नुपर्ने अवस्थामा पुगे । कतिपय डिप्रेसनमा गए त कतिपयले मानसिक सन्तुलन नै गुमाए । सहकारीमा निक्षेप जम्मा गरेका करोडौँ जनता रोए । घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरू पनि नराम्ररी डुबे ।
त्यस्तै, व्यापार व्यवसाय गर्नेहरू पनि डुबेर पलायन भए । सहन सक्ने बाँचे अनि सहन नसक्नेहरू ले आत्महत्या गरे । अब २०८१ सालले बैङ्क तथा वित्तीय संस्थाहरूले कति बचतकर्ताको रुवाबासी गराउने हो ? बैङ्किङ क्षेत्र दिनप्रति दिन नाजुक अवस्थामा पुग्दैछ ।
तर, बैङ्कहरू अहिले पनि यति नाफा कमायौँ भनेर आम सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । जनताले बैङ्कमा बचत गरेको रकम पनि कर्मचारीहरूको मिलेमतोमा चोरी वा हिनामिना हुने गरेको पनि प्रमाणित भइसकेको छ । कहिले सासुको पालो त कहिले बुहारीको पालो भनिन्थ्यो ।
२०८० सालमा सहकारीका बचतकर्ताहरू आफ्नो रकम डुबेर रोए त अब ०८१ सालमा बैङ्कका बचतकर्ताहरू रुनु पर्नेछ । अहिले अर्थविद्, विज्ञहरू २०८१ सालमा अर्थतन्त्र झन् नाजुक अवस्थामा पुग्ने बताउँछन् । बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच छैन । 
व्यापार व्यवसाय ठप्प छ । पसल खोल्नु मात्र हो भनेर व्यापारीहरू नै भन्छन् । सटर भाडा तिर्न नसकेर अधिकांश व्यापारी तथा व्यवसायीहरू त पलायन नै भइसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेका व्यक्ति र सहकारी त डुबिहाले । अब पालो बैङ्कको हो ।
अब बैङ्कले यस क्षेत्रमा लगानी गरेको कर्जा कसरी उठाउँछ ? आफूले राखेको निक्षेप निकाल्न अहिले बैङ्कमा बचतकर्ताहरूको लाम लागिसकेको छ । बैंकर्स सङ्घले जति सुकै पत्रकार सम्मेलन गरेर बैंकिङ्ग क्षेत्र ठिकठाक छ भने पनि अब जनता विश्वास गर्ने छैनन् । 
अहिले सार्वजनिक स्थल, चिया पसलहरूमा मानिसहरूले घरजग्गा, गाडी र सेयरको मूल्य झन् घट्ने बताइरहेको सुनिन्छ । सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरू जसरी नै बैङ्कका म्यानेजर र कर्मचारीहरूको पनि भाग्ने दिन सुरु भएको छ । सरकारले जग्गाको कित्ताकाट त फुकुवा गर्‍यो ।
यद्यपि, न जग्गाको कारोबार बढ्यो न मूल्य नै । अहिले पनि घरजग्गा किन्ने कोही छैन । यता, सेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो । अब चाहिँ सेयरको मूल्य र कारोबार बढ्ने भयो भन्दै लगानीकर्ताहरूले खुसीयाली मनाए । विडम्बना, यत्रो गर्दा पनि न सेयरको मूल्य बढ्यो न कारोबार । उल्टो घट्दै गयो ।
अहिले गाडीको किनबेचमा समेत गिरावट आएको छ । नयाँ होस् या पुरानो गाडी किन्ने कोही छैन । अनि कसरी बजार चलायमान हुन्छ ? कसरी घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ ? र, पहिलाकै लयमा फर्किन्छ ? तीन वर्षअघि ३२ सय कित्तामा किनेको सेयर अहिले सय ?पैयाँमा बिक्री नहुने अवस्था आएको छ ।
२५ लाख आनामा किनेको जग्गा आपत् नै परेर त्यसको आधा मूल्यमा बेच्छु भन्दा समेत किन्ने मान्छे नभेटिएको सुनिन्छ । गाडीको पनि यस्तै हालत छ । २०–३० लाखमा किनेको सवारीसाधन अहिले लाखौँमा बिक्री हुन्न । होटेल, रेस्टुरेन्ट, दोहोरी साँझ, पार्टी प्यालेसहरू बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् ।
भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरू सुनसान छ । माछा मासु र मदिराको खपत पनि निकै घट्दो छ । झन् लुगा पसल त अधिकांश बन्द नै भइसकेका छन् । सबैतिर मन्दी छाएको छ । मन्दीले बजार नै ढाकिसक्यो । बोराको बोरा चामल लैजानेहरू अहिले किलोमा किन्न थालेका छन् । काम गरेको ठाउँबाट वर्षैदेखि तलब दिइएको छैन ।
बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसक्यो । सर्वसाधारण वा ठुला व्यापारीहरूले पैसा लुकाइसकेका छन् । यातायात र मालपोत कार्यालयमा लेखनदास गर्ने तथा कानुन व्यवसायीहरू सेवाग्राही आउन ठप्पै भएपछि घर भाडा समेत तिर्न नसकिरहेको बताउँछन् ।
एक जना सेवाग्राही आएमा पाँच जना लेखनदास र कानुन व्यवसायीहरू केही गर्नुपर्ने थियो कि भन्दै सोध्न पुग्छन् । अब यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? सेयर दलालीहरू डुबिसकेका छन् । त्यस्तै, घरजग्गा, गाडी दलालीहरूको पनि भागाभाग चलिरहेको छ ।
फेरि घरजग्गा, गाडी र सेयरको किनबेच नहुने बित्तिकै राज्य राजस्वविहीन हुन्छ । अब सरकारले कसरी कर्मचारी र जनप्रतिनिधिलाई तलब भत्ता खुवाउँछ ? कसरी खर्च धान्छ ? र कसरी विदेशी ऋण तिर्छ ? बजार मन्दीमा गएपछि सर्वसाधारणले बैङ्क डुबेको थाहा पाएका हुन् ।
त्यसैले, अब अर्थमन्त्री, प्रधानमन्त्री र राष्ट्र बैङ्कका गर्भनरले जतिसुकै चिच्याएर वा कराएर बैङ्क डुबेको छैन भनेपछि जनता पत्याउने छैनन् । अहिले बैङ्कका सञ्चालकहरू सेयर बेच्न खोजिरहेका छन् ।
अब सेयर बेचेर बाहिरिने उनीहरूको योजना छ । तर, सेयर किन्ने कोही छैन नि त । कतिपय प्राइभेट बैङ्कका कर्मचारीले त तीन महिनादेखि छ महिनासम्मको तलब नपाएको पनि सुनिएको छ । बैङ्क वा सहकारी सञ्चालन गर्न घर भाडामा दिएका घरधनीहरू पनि वर्षैदेखि भाडा नपाएको बताउँछन् ।
दुई वर्षअघि सहकारी भाग्न थालेपछि राष्ट्रिय सहकारी महासङ्घले केही सहकारी मात्र समस्यामा परेका हुन्, अन्य सहकारी डुब्दैन, भाग्दैनन् भन्दै दैनिक पत्रकार सम्मेलन गर्‍यो । अहिले दर्तामा रहेका मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौँ बचतकर्ताको खर्बौ रकम डुबेको छ ।
अब बैङ्कमा बचत गरेका बचतकर्ताहरूको पनि खर्बौ डुब्ने छ । अहिले भाटभटेनीका साहु मीनबहादुर गुरुङ, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँजस्ता व्यक्ति तथा व्यापारीहरूले बैङ्कका ऋण लिएर साँबाब्याज केही पनि नतिर्दा पनि बैङ्क टाट पल्टिने अवस्थामा पुगेको बताइन्छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर बैङ्कहरूले अर्बौँ कर्जा दिएका छन् । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा धितो राखेर पनि बैङ्कहरूले करोडौँ कर्जा दिएको सुनिन्छ । अहिले यी दुवै जग्गा सरकारको नाममा आइसकेको छ । यसले गर्दा ऋणीले ऋण नतिरे बैङ्कको अर्बौँ रकम जोखिममा पर्ने छ ।
सार्वजनिक स्थल, यातायात, चिया पसल, बाटोहरूमा मानिसहरू सहकारी त भाग्यो अब बैङ्क पनि टाट पल्टिने भो भनेर भनिसकेको सुनिन्छ । अहिले जताततै बैङ्क डुब्ने चर्चा छ । पहिला पहिला बैङ्कबाट कर्जा पाउन घुस खुवाउनु पर्थ्यो । दुई करोडको धितो राख्दा एक करोड दिइन्थ्यो ।
त्यसमा पनि दश लाख घुस, दुई प्रतिशत सेवा शुल्क अहिले १६ प्रतिशत ब्याज भनेर ७५ प्रतिशतसम्म असुल्थ्यो । अर्कोतर्फ ऋणीले तीन किस्ता नतिर्ने बित्तिकै दुई करोडको धितो ९० लाखमा पचाउँथ्यो । अहिले आम सर्वसाधारणले बैङ्क तथा वित्तीय संस्था चोर, ठग, दलाली हुन् भनेर थाहा पाए ।
यसैले, सर्वसाधारणले बैङ्कबाट ऋण लिन र बचत गर्न नै छोडेका छन् । जनताको नजरबाट बैङ्क तथा वित्तीय संस्था नराम्ररी नङग्रिएका छन् । र, अब जनताले विश्वास गर्ने छैनन् । जनता सबैभन्दा शक्तिशाली हुन् । जनताभन्दा ठुलो कोही छैन । प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैङ्कका गभर्नर समेत जनताको अगाडि कोही होइनन् ।
अनि जनताबाटै बैङ्क, वित्तीय संस्था नङ्गिएपछि कसरी चल्छ यिनीहरू ? कसरी अर्थतन्त्र चलायमान हुन्छ ? प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैङ्कका गर्भनरले बैङ्क डुबेको छैन भनेर जतिसुकै भने पनि अब जनता भ्रममा पर्ने छैनन् । बैङ्कहरूले बचतकर्ताहरूलाई तीन-चार प्रतिशत ब्याज दिन्थ्यो ।
त्यो पनि तीन महिना, छ महिना र वर्ष दिनमा । तर, ऋणीबाट भने मासिक १८ देखि ७५ प्रतिशतसम्म असुल्थ्यो । एक दिन ढिलो भएमा पेनाल्टी हान्थ्यो । कतिपय बैङ्क, वित्तीय संस्थाले ऋणीले समयमै किस्ता तिर्दा पनि पेनाल्टी लिन्थ्यो र सेवा शुल्क पनि लिन्थ्यो ।
अहिले बैंकह?को ठगी धन्दाको पर्दाफास भइसकेको छ । त्यसैले, २०८१ सालमा धेरै बैङ्कहरू सहकारी जसरी नै भाग्नेछन् । बैङ्क डुब्नु र भाग्नुअघि नै बचतकर्ताहरू सचेत रहौँ । आफ्नो रकमको आफैँ सुरक्षा गरौँ । किनकि डुबेपछि रुनु वा टाउकोमा हात लगाउनुभन्दा केही विकल्प छैन ।