धरान : अमेरिकी चुनावमा रिपब्लिकन पार्टीको पूनः राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभामा भएको गोली प्रहारको घटना सुरक्षा प्रहरीको कमजोरीका कारण भएको मिडियाहरूले समाचारमा उल्लेख गरेका छन् ।
बीवीसीको एक समाचार अनुसार ग्राम नामक घट्नाको एक प्रत्यक्षदर्शीले ट्रम्प भाषण गर्न स्टेजमा चढ्नु भन्दा ५ मिनेट पहिले एक सङदिग्ध मानिस आफ्नो घरको छतमा कुइनोले टेकेर घिस्रिँदै गरेको देखेको बताए ।
उनले पुलिसलाई तत्काल त्यस व्यक्तिलाई देखाएका थिए । ग्रेगले बीबीसीलाई भने ‘उसको साथमा राइफल थियो, मैले प्रष्ट रूपमा देखेको हुँ, मैले पुलिसहरूलाई त्यो मानिस भएको तिर देखाएर बताएको थिएँ । पुलिस भने तल ग्राउँण्डको चारैतिर चक्कर लगाई रहेको थियो, पुलिसलाई थाहै भएन कि त्यहाँ के भइरहेको थियो।’
अर्का प्रत्यक्षदर्शी जेसनले बीबीसीलाई त्यसै बेला पाँच पटक गोली चलेको आवाज सुनेको बताए । गोली एकपछि अर्को लगातार चलेको उनको भनाई छ । उनले भने ‘सिक्रेज सर्विसका सुरक्षाकर्मी तुरुन्त मञ्चमा चढेर ट्रम्पलाई घेरा हाले, भीडका सबै मानिस घोप्टो परेको मैले देखेँ ।’
रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प स्विङग प्रान्तको पेन्स्लिवेनियाको बटलरमा आयोजित चुनावी प्रचार सभामा सम्बोधन गरिरहेको बेला गोली चलेको हो ।
सिक्रेट सर्भिसले वक्तव्य जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्प सुरक्षित भएको जनाएको छ । वक्तव्यमा हमलाको जाँच जारी रहेको जनाइएको छ । घट्नामा पूर्व राष्ट्रपतिको कानमा गोली प्रहारबाट चोट लागेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेजमा देखिएको छ ।
पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘टुथ’मा लेखेका छन् ‘एक सरसराहटसंगै गोलीको आवाज सुनेपछि केही गडबड भइरहेको मलाई लाग्यो, यत्तिकैमा गोली मेरो छालालाई छोएर गएको थियो ।’
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































