• अनुसा थापा

अहिले सुन किन्नेको ओइरो लागेको छ । बजारमा सुनको मूल्य दिनहुँ बढिरहेको छ । अझै सुनको मूल्य बढ्ने व्यापारीहरू बताउँछन् । सुन तोलाकै साढे दुई लाखसम्म पुग्ने बजारमा व्यापक चर्चा छ । सुनको मूल्य बढेसँगै आम सर्वसाधारण पनि सुन किनिरहेका छन् । आफूसँग भएको रकम उनीहरू सुनमा खर्चिरहेका छन् ।

फेरि भोलि सुनको मूल्य ह्वात्तै घट्यो भने अहिले महँगोमा किन्नेको हालत के होला ? पक्कै पनि उनीहरू पनि डुब्ने छन् । मान्छे कि त परेर चेत्छ कि त देखेर । त्यसैले, अर्काको लैलैमा लाग्नुहुन्न । छिटो नाफा कमाइन्छ भनेर यस्तोमा लगानी गर्नुहुन्न । उदाहरण नै भन्नुपर्दा हिजो कित्ताकै ३५ सय हालेर सेयर किनेकाहरू अहिले सय रुपैयाँमा बिक्री नहुँदा चुर्लुम्मै डुबेका छन् ।

त्यस्तै, घरजग्गा र गाडीमा पनि यस्तै भएको छ । आनाकै ४० लाख हालेर किनेको जग्गा अहिले त्यसको आधा मूल्यमा बिकेको छैन । २० लाखमा किनेको गाडी लाखमा बिक्री हुन्न । यता, ब्याजको प्रलोभनमा परेर सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरू पनि आज नराम्ररी डुबेका छन् । सहकारी भाग्यो । करोडौँ बचतकर्ताको बिचल्ली बनायो ।

त्यसरी नै अहिले बैङ्कले पनि बचतकर्ताहरूको यस्तै हालत बनाउने देखिन्छ । अहिले बैङ्क पनि टाट पल्टिने अवस्थामा पुगेको छ । बैङ्क डुब्ने डरले अहिले सर्वसाधारणले आफ्नो निक्षेप निकालेर सुन किनिरहेको पाइन्छ । सुन किनेर घरमा राख्ने गरेका छन्, जनताले । सबैले सुनमा लगानी गर्ने भएपछि पैसा झन् फ्रिज हुने भएको छ ।

किनकि सुन बेचेको पैसा व्यापारीहरूले बैङ्कमा राख्दैनन् । सुन धितो राखेर वा बेचेर कमाएको पैसा व्यापारीहरूले ३६ प्रतिशत ब्याजमा लगाइरहेका छन् । डेढ लाखको सुन धितो राखेर ५० हजार कर्जा दिई तीन महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र ऋण नतिरेर सुन नै पचाइ दिन्छन् । हिजो पनि सर्वसाधारण लैलैमा लागेर डुबे । र, आज पनि त्यहीँ गल्ती दोहोर्‍याउँदै छन् ।

दलालहरूको लैलैमा लगेर बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर ३५ सयमा किने । पाँच हजार आना नपर्ने जग्गा ६०-६५ लाखमा किने । पाँच लाखको गाडी पनि २०-३० लाख हालेर किने । हिजो दलालहरूको लैलैमा लागेर सर्वसाधारण डुबे त आज सुन व्यापारीहरूको लैलैमा जनता डुब्दै छन् । त्यसैले, अब जनता समयमै सतर्क हुनुपर्छ ।

सरकारले बैङ्क, वित्तीय संस्था खोल्न अनुमति दियो । बैङ्क, सहकारी, लघुवित्त, फाइनान्समा पैसा राख्नुस्, हामी तपाईँहरूको पैसाको जिम्मेवारी लिन्छौँ भनेर सरकारमा बसेका व्यक्तिहरूले नै भने । सिधासादा जनताले विश्वासमा परेर आफूसँग भएको वा जीवनभर दुःख गरेर, खाईनखाई राखेको पैसा बैङ्क, वित्तीय संस्थामा राखे ।

तर, सहकारी त्यहीँ पैसा लिएर भाग्यो । अहिले सरकार पनि त्यस्ता ठग, चोर सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्दैन । अधिकांश बैङ्कका कर्मचारीले पनि बचतकर्ताको पैसा हिनामिना वा चोरी गरेको घटना बाहिरिएको छ । यसरी बैङ्क, वित्तीय संस्थाबाट विश्वास उठेपछि सर्वसाधारणले आफ्नो निक्षेप निकाले । र, फेरि राखेनन् ।

व्यापार व्यवसायमा पनि लगानी गरेनन् । र, अहिले त्यो पैसाले सबैले सुन किनिरहेका छन् । सुन किन्दा न राज्यले राजस्व पाउँछ न त्यहाँबाट रोजगारी सिर्जना हुन्छ । जनताले सरकारमाथि विश्वास गर्न छोडिसकेका छन् । सरकारले सहकारीका सञ्चालक, अध्यक्षलाई समातेको भए र बचतकर्ताको निक्षेप फिर्ता गरिदिएको भए आज बैङ्कबाट पैसा निकाल्नेको भीड बढ्दैनथ्यो ।

अहिले सर्वसाधारणले बैङ्कमा बचत गर्न छोडेका छन् । भएको पनि निकालिरहेका छन् । यता, घरजग्गा, गाडी र सेयरमा लगानी गर्न छोडेका छन्, जनताले । सँगै व्यापार व्यवसाय गर्न पनि छोडिएको छ । अहिले जोकोही सुन किनिरहेका छन् अनि घरमा लुकाइरहेका छन् । पैसा जति सबै सुनमा लगानी गरिएको छ । फेरि त्यो सुन घरमै राखिन्छ ।

यसले बजारमा झन् ठुलो मन्दी निम्त्याउने देखिन्छ । सरकार आर्थिक मन्दी हटाउँछु भन्छ । तर, मुखले बोल्दैमा त मन्दी हट्दैन नि ? सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, राष्ट्रपति, गभर्नर सबै अर्थतन्त्रमा सुधार आएको दाबी गर्छन् । अर्थतन्त्रमा सुधार आएको हो भने किन उपत्यकामा कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् ?

किन व्यापारीहरू दिनहुँ पलायन भइरहेका छन् ? किन देशभर मन्दी छ ? राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसकेको छ । सरकारी स्वामित्वकै महालेखा परीक्षकको कार्यालय सरकारको आम्दानीभन्दा खर्च दोब्बर रहेको बताउँछ । सरकारको लक्ष्यअनुरूप ४० प्रतिशत पनि राजस्व उठेको छैन । बजार पूरै मन्दीमा छ । मालपोत र यातायात कार्यालय सुनसान छ ।

जनतामा निराशा छाएको छ । उनीहरूले विभिन्न क्षेत्रमा गरेको लगानी सबै डुबेको छ । भाटभटेनी, बिगमार्ट, सुपरमार्केटहरू पनि सुनसान छ । होटेल, रेस्टुरेन्ट, माछा, मासु पसल, डेरी लगायतमा पनि कोही ग्राहक आउँदैनन् । अहिले भीड भनेको कि त सुन पसलमा कि बैङ्क, वित्तीय संस्थामा ।

एकातर्फ सुन किन्न मानिसहरूको लाम लागेको छ भने अर्कोतर्फ आफ्नो बचत झिक्न । यता, वैदेशिक रोजगारीको सिलसिलामा खाडी जानेहरूको पनि एयरपोर्टमा लर्को छ । २०८० सालमा धेरै मानिसहरूले आत्महत्या गरे । धेरै डुबे । धेरै सडकछाप भए । त्यो कारण थियो, सहकारी । सहकारीले पैसा खाइदिएपछि करोडौँ जनताको घरपरिवार नै लथालिङ्ग हुन पुग्यो ।

यो वर्ष अर्थात् २०८१ सालमा बैङ्क डुब्छ भनेर बजारमा व्यापक चर्चा छ । त्यसैले, अहिले बैङ्कमा पैसा निकाल्न बचतकर्ताहरूको भीड छ । बैङ्कको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर अहिले जोकोहीलाई थाहा छ । फेरि हिजो सहकारी पनि यीनै क्षेत्रमा लगानी गर्दा नै भाग्नुपरेको थियो ।

बैङ्कबाट कर्जा लिएर घरजग्गा, गाडी र सेयर किनेकाहरू पनि धितोको मूल्य घटेपछि धितो नै बैङ्कलाई छोडिदिए । यता, यीनै क्षेत्रमा लगानी गरेका अधिकांशको डुबेपछि भागाभाग नै चलेको छ । अहिले बजारमा भनिन्छ कि घरजग्गा, गाडी र सेयरको मूल्य चार दशकअघिमा फर्किन्छ । अब यसको कारोबारमा सुधार आउँदैन ।

अहिले सरकार हजार र पाँच सयको नोटमा प्रतिबन्ध पनि लगाउँदैन । बजारबाट मन्दी पनि हट्दैन । झन् झन् नाजुक अवस्थामा पुगेको छ । सरकारलाई राजस्व कसरी उठाउने ? खर्च कसरी धान्ने ? भनेर मतलब छैन । यता, जनता भने आफूसँग भएको पैसाले धमाधम सुन किनिरहेका छन् । सुन किन्दा सम्बन्धित व्यक्तिलाई फाइदा होला ।

बैङ्कबाट आफ्नो निक्षेप निकालेर सुन किनेपछि उनीहरू ढुक्क पनि होलान् । तर, यसबाट राज्यलाई त ठुलो घाटा छ नि त । सरकारले पहिल्यै घरजग्गा, गाडी, सेयर, सुन लगायतमा लगानी गर्न पाइँदैन । र, कृषि, उद्योग, व्यापार व्यवसायमा मात्र लगानी गर्न पाइने भनेर नीति बनाएको भए आज न बैङ्क, वित्तीय संस्था डुब्थे न नेपाली युवाहरू रोजगारीका लागि खाडी पुग्नु पर्थ्यो ।

तर, सरकारले समयमै यसबारे नसोच्दा आज देश नै तहसनहस अवस्थामा पुगेको छ । सरकारमा बस्नेहरूले देश र जनताको लागि सोचेनन् । आफ्नो पार्टी र परिवारको लागि मात्र सोचे । अनि यस्ता व्यक्तिहरूका कारण आज देश नै नरहने अवस्थामा पुगेको छ । अब जनता पनि दलाली वा व्यापारीहरूको लैलैमा लाग्नुहुन्न । जथाभाबी लगानी नगरौँ, पहिला राम्ररी सोचौँ ।