धरान : भारत अररियाका २८ वर्षीय मोहम्मद मोजहिद र २० वर्षीय राजकुमार दासलाई मङ्गलवार विराटनगर बसपार्कबाट प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चेकजाँचको क्रममा विराटनगर–११ बसपार्कबाट १५२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसै गरी विराटनगर-८ का २८ वर्षीय अजयकुमार मुखिया र विराटनगर-१६ का अजयकुमार राउतलाई १४० ग्राम १८ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
विराटनगर-१३ सडक किनारमा को १४ प ४५८७ नम्बरको मोटरसाइकलमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू माथि शङ्कालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।