धरान : नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रूपान्तरण अभियानमा स्थानीय वडा, टोलमा भौतिक पूर्वाधार निर्माणका कार्य पनि भएको छ । पार्टीको धरान वडा ११ कमिटीले अभियानकै अवधिमा यात्रु प्रतीक्षालय निर्माण गरेर त्यसको उदाहरण स्थापित गरेको हो ।

रूपान्तरण अभियानका संयोजक अजम्बर काङमाङले शुक्रवार प्रतीक्षालयको उद्घाटन गर्दै प्रतीक्षालय निर्माणले ३ महिने अभियानको सार्थकता साबित गरेको बताए । यात्रु प्रतीक्षालय धरान-११ स्थित कुर्विता चौकमा निर्माण गरिएको हो ।

संयोजक काङमाङले प्रतीक्षालय माओवादीले गरे पनि यसको संरक्षण र व्यवस्थित रूपमा सुविधा थप गर्दै जाने जिम्मेवारी स्थानियबासीको भएको बताए । प्रतीक्षालयको व्यवस्थापनको संरक्षकत्व माओवादी धरान-११ वडा कमिटीकै हुने उनको भनाई थियो।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले माओवादी वडा कमिटी सहित स्थानीयको सहयोगमा निर्माण भएका प्रतीक्षालय चौकको शोभा र स्थानियबासीको एकताको प्रतीक बनेको बताए ।  उनले भने ‘अहिले एकले अर्कोलाई आक्षेप लाउने, हिलो छेप्ने खुट्टा तान्ने काम भइरहेको बेला माओवादीले उदाहरणीय कार्य गरेको छ ।’

प्रतीक्षालय निर्माण समितिका अध्यक्ष नरध्वज तामाङले स्थानीय जनताको प्रत्यक्ष सहभागिता र सहयोगले मात्र प्रतीक्षालय निर्माण भएको बताए । उनका अनुसार स्थानीय समुदायको प्रत्यक्ष श्रमदान, आर्थिक सहयोग सहित १ लाख ६५ हजार रुपैयाँमा प्रतीक्षालय निर्माण सम्पन्न भएको हो ।

pratikshalaya-maobadi