धरान : ललित अम्बर डिपो कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमशिखर तरहरासँग १-० गोलले आयोजक डिपो स्कुल पराजित भएको छ । डिपो स्कुलबाट सञ्चालित प्रतियोगिताको १८ औ संस्करण आज शुक्रवार सुरु भएको हो ।

खेलको  पहिलो हाफको १८ औ मिनटमा हिमशिखरका मन्जिल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  निर्धारित समयभर कुनै गोल नभएपछि सोही गोल निर्णय बन्यो ।

खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । सुनसरी जिल्ला स्तरीय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान बाहिरका ४ विद्यालयले सहभागी छन् । धरानबाट आयोजक डिपो, काम्रेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरि, माउन्ट हर्मन, दिल्ली पब्लिक, विष्णु मेमोरियल, देउराली चिल्डे्रन, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ ।

धरान बाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड बुद्ध स्कुल रामधुनिवाट सहभागिता जनाएका छन् । २२ गते सम्पन्न हुने डिपो कपको उद्घाटन प्रमुख अतिथि कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले गरेका थिए ।

डिपो स्कुल व्यवस्थापन समितिका सदस्य दिपवहादुर राईको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । प्रतियोगिताको पहिलो चरणमा पराजित टिमले दिल बहादुर प्लेट च्याम्पियन प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा हुँदैछ ।