धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनको लागि 'क्युआर कोड' को प्रयोग सार्वजनिक गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरमा मङ्गलवार एक कार्यक्रम बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि-२०८० सार्वजनिक गरेका हुन ।

महानिरीक्षक कुँवरले भने ‘प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढेको अवस्थामा प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउन नयाँ नयाँ प्रविधि भित्राइएको हो ।’ उनले उजुरी पेटीकाको डिजिटल संस्करणको रूपमा क्युआर कोड प्रयोगमा ल्याइएको बताए ।

आम सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिर मार्का कैफियत भएमा सिधै सिकायतका लागी क्युआर कोड प्रचलनमा ल्याइएको हो । क्युआर कोड मार्फत कसैले पनि सम्बन्धित जिल्लाका प्रहरी प्रमुख समक्ष आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय उदयपुरले क्युआर कोड सञ्चालनमा ल्याएको थियो । उक्त प्रविधिको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको बताइएको छ ।

उक्त क्युआर कोड कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश सशस्त्र प्रहरी गण विराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको छ ।

एक महिना भित्र इलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी क्युआर कोड कार्यान्वयनमा ल्याइने बताएको छ । प्रदेश प्रहरी कार्यालयले क्युआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ ।