इटहरी : कोशी प्रदेशको सामाजिक तथा धार्मिक सद्भाव बारे बुझ्न सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर पुगे । उनले सामाजिक तथा धार्मिक एकता कायम गरी सद्भाव भड्काउन नहुनेमा सचेत रहन आग्रह गरे ।

धरानमा ९० वर्ष पुरानो गोपाल मन्दिरको अगाडी चर्च निर्माण भएपछि धार्मिक विवाद सुरु भयो । त्यसपछि धरानमै गोरु काटेर भोज गरेको तस्बिर सामाजिक सञ्जालमा व्यापक भएपछि सामाजिक सद्भावमा चुनौती बढ्दै गयो । गोरु काटेको भन्दै हिन्दु धर्मावलम्बीहरूले गौ हत्या बन्द गर्नुपर्ने माग सहित प्रदर्शन गरे । हिन्दुहरूको प्रदर्शनकै दिन सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले धरानमा निषेधाज्ञा नै लगायो ।

त्यसयता धरानमा मात्र हैन कोशी प्रदेशलाई सुरक्षा चुनौतीको रूपमा हेरिएको छ । सोमबार गृहमन्त्री श्रेष्ठले विराटनगरमा सरोकारवाला निकाय सँग छलफल र संवाद गरे । सोही दिन प्रतिशोधपूर्ण हिसाबमा कोशी प्रदेशको पहाडी जिल्ला खोटाङमा गोरु काटेर भोज गरेको तस्बिर भाइरल भएको छ ।

धरानबाट सुरु भएको अभियान झापा, मोरङ, तेह्रथुम, पाँचथर हुँदै खोटाङ पुगेको भन्दै फेसबुकमा गोरु काटेको तस्बिर राखिएको छ । हिन्दु धर्मावलम्बीले आन्दोलन जारी राखेको बेला गोरु काटेर 'प्रतिशोधपूर्ण गोरुको भोज' बढ्दै गएको छ ।

मुख्यतः कोशी प्रदेशको नाम पहिचानको आधारमा नभएको भन्दै किराँत तथा लिम्बुवान् पक्षधरले आन्दोलन जारी राखेका छन् । कोशीले प्रदेशको प्रतिनिधित्व गर्न नसक्ने भन्दै सुरु भएको विरोधले विभिन्न रूप धारण गरेको छ। गोरु काट्नु किराँतीहरूको सभ्यता भित्र परेको भन्ने तर्क सुरु भएको छ । जसमा किराँत तथा लिम्बुवानहरू एक भएका छन् ।

दुई तिहाइ बहुमतले पारित भएको कोशी नाममा हाल नेकपा माओवादी केन्द्रले फरक मत राख्दै आएको छ । पहिचानवादीको बहुमत नभएको भन्दै माओवादीले आफू पहिचानको पक्षमा रहेको बताएको हो । सडकमा पनि माओवादीकै अगुवा नेताहरू आन्दोलनमा उत्रिएका छन् भने सङ्घीय सरकारमा पनि माओवादीकै नेतृत्व छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भमा केही क्षेत्रमा सुरक्षा चुनौती रहेको बताएका छन् । प्रदेशको नामकरण पछि स्वयं जिम्मेवार राजनीतिक दलहरूको प्रतिक्रियाले समेत चुनौती सृजना भएको कार्कीले टिप्पणी गरे । नाममा सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बोलेको कारण सुरक्षा थ्रेट बढेको उनको दाबी छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका हुन् । कोशी प्रदेशमा भइरहेका पछिल्ला गतिविधिले सामाजिक सद्भाव र सहिष्णुता कमजोर भएको बताए ।

अहिले जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सद्भाव र सहिष्णुता कायम गर्नु पर्ने बताउँदै उनले भने, ‘यो प्रदेशको समृद्धिको लागि पनि सद्भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’