धरान : कुवेतबाट आएका दुई जना महिलासँग क्लोज कनट्याक्ट रहेका तीन जना सहित ३५ देखि ४० जनाको थ्रोट स्वाबको नमुना आज लिईदै छ ।
धरान १७ स्थित एन्फा क्वारेनटाइनमा रहेका २८ जना सहित होटल क्वारेनटाइनमा बस्ने र चतराको होल्डीङ सेन्टरमा बस्ने पनि धरान ल्याईदै गरिएकोले करिब ३५ देखि ४० जना सम्मको थ्रोट स्वाब सङ्कलन गरिने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।
एन्फा क्वारेनटाइनमा अहिले कुवेतबाट आउने १८ जना महिला, दुवाइबाट आउने ३ जना पुरुष, साउदी अरबबाट आउने १ जना महिला, भारतबाट आउने २ महिला सहित ४ जना पुरुष गरी जम्मा २८ जना रहेको क्वारेनटाइनका स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिएकी छिन् ।
गएको शुक्रवार क्वारेनटाइनमा जम्मा ४५ जनाको थ्रोट स्वाबको नमुना सङ्कलन गरी पिसिआर परीक्षण गर्दा २ जना महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ महिलाहरू १ जना धरान १७ की ३६ वर्षीय र धरान ७ की ४३ वर्षीय महिला रहेका छन् । उनीहरूसँग क्लोज कनट्याक्ट रहेका ३ जनाको आज पुन स्वाबको स्याम्पल लिने बताइएको छ ।
सङ्क्रमित महिलाहरूसँग क्वारेनटाइनमा आफन्त भेट्न आएको भए पनि करिब १० मिटर टाढाबाट भेट गराइएकोले सङ्क्रमितको परिवारमा कोरोनाको जोखिम नहुने एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक तथा १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले बताए ।
अरू क्वारेनटाइनको जस्तो नजिक दुरीमा भेटघाट आफन्तलाई नदिइने र गेट बाहिर र भित्रको दुरी करिब १०-११ मिटरबाट गराइने भएकोले एन्फा क्वारेनटाइनमा कडा स्वास्थ्य सुरक्षा रहेको अध्यक्ष भट्टराईले बताए ।


































































