धरान : तस्बिरमा झट्ट हेर्दा कुनै मेला र उत्सव जस्तै देखिन्छ । फेरी यो लकडाउनको बेलामा केको मेला र उत्सव लाग्न स्वाभाविक हो । तर सप्तरीको महुलीमा शनिवार बिहान यस्तै मेला उत्सव जस्तै मानिसको ठुलो भिड लाग्यो ।
यो भिड लकडाउनको बेलामा कुनै राहत वितरणको थिएन त्यो थियो गुट्खा किन्नेहरूको भिड । सप्तरी जिल्लाको पूर्वपश्चिम सडक खण्डको महुली बजार देखि डेढ सय मिटर उत्तरको सामुदायिक बनको कार्यालय परिसरमा अमृत प्लस नामक गुट्खाका डिलर नैन किराना पसलले आज गुट्खा बेच्ने भनेपछि गुट्खा किन्न सर्वसाधरणहरुको ठुलो भिड लागेको थियो ।
यसरी लकडाउनको बेलामा यत्ति धेरे मानिस जम्मा गरेर गुट्खा किनबेच गर्न नैन किराना पसलका सञ्चालक नैन मियालाई अग्निसाईकृष्णासबरन गाउँपालिका वडा न ६ का वडाध्यक्ष कुसुम आचार्यले अनुमति दिएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालहरूमा आक्रोश पोखेका छन् ।
सप्तरी जिल्लामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ छ । कोरोनाको महामारी फैलिरहेको बेलामा यसरी जनप्रतिनिधि र कोरोना नियन्त्रण समितिकै पदाधिकारीहरू सहभागी भएर ५ रुपैयाँ पर्ने अमृत प्लस गुट्खा किनबेच गर्न दिइएको बताइएको छ । यसले कोरोना सङ्क्रमणको जोखिम बढाएको सामाजिक सञ्जालहरूमा उल्लेख गरिएको छ ।
यस सन्दर्भमा अग्निसाईकृष्णासबरन गाउँपालिका वडानं. ६ का वडाध्यक्ष कुसुम आर्चायसंग बुझ्दा गुट्खा किन्नेहरूको बिहान ठुलो भिड लागेको र जानकारी पाएपछी हटाएको बताइन। यसरी सामाजिक दुरी पनि कायम नगरी लकडाउन उल्लङ्घन गर्ने गुट्खाका व्यापारीलाई कारबाही हुन्छ की हुँदैन ? भन्ने प्रश्नमा उनले सबै भ्याट विल र कागजपत्र भएको व्यापारी भएकोले केही गर्न नसकिने बताइन ।
लकडाउनको बेलामा यसरी विभिन्न बहानामा मानिसहरूको ठुलो भिड लाग्नले ठुलो जोखिम निम्तिने हुनसक्छ । यस्ता कुरामा जनप्रतिनिधि र सामाजिक अभियान्ताहरुकै सहभागितामा सामुदायिक बनको कार्यालयमा विना अनुमति यसरी मानिसको भिड गराएर गुट्खा बेच्नेलाई कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालहरूमा उठेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        