धरान : उदयपुरको सदरमुकाम गाईघाट नजिकैको भुल्केको मस्जिदमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण भएको पाइएपछि अहिले सङ्घीय सरकारबाट स्वास्थ्यकर्मीको टोली हेलिकोप्टर मार्फत आई पुगेको छ ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत आईपुगेको स्वास्थ्यकर्मीको टोलीले भुल्केको मस्जिद आसपासको मुस्लिम समुदायको २ सय ५० जनाको स्वाब लिने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
नेपाली सेनाको हेलिकोप्टरबाट भुल्के स्थित नेपाली सेनाको ब्यारेकमा आई पुगेको स्वास्थ्य टोलीले भुल्केको मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब लिने र सङ्क्रमितहरू पुगेका गाउँको आशङ्का गरिएका मानिसको पनि स्वाब लिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।
उनका अनुसार स्वाब लिनका लागि केन्द्रबाट ४ जनाको स्वाथ्यकर्मीको टोली आएको र सम्भावना भए सम्म जोखिम क्षेत्रका सबैको स्वाब सङ्कलन गरिने छ ।
शुक्रवार १ नेपाली सहित ११ भारतीय नागरिक गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने त्यही मस्जिदमा बस्ने अर्को एक जनामा पनि हिजो कोरोना पोजेटिभ भएको पाइएपछि उदयपुरको भुल्के स्थित मस्जिदमा बस्ने १३ जना कोरोना भाइरस सङ्क्रमित पुगेका छन् ।
कोरोना सङ्क्रमित धेरै सङ्ख्यामा देखिएको क्षेत्र भुल्के अति संवेदनशील क्षेत्रकोरुपमा लिई सो क्षेत्रमा पुरै आवतजावत बन्द गरिएको छ भने त्रियुगा नगरपालिकाको १२, १, २, ६ नम्बर वडामा पनि निगरानी बढाइएको गाईघाटका संञ्चारकर्मी कुशबाबु बस्नेतले जानकारी दिएका छन् ।


































































