धरान : लकडाउनको कारण बालबालिकालाई लगाउनुपर्ने खोप राष्ट्रिय खोप सेवा प्रभावित भएकोमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वैशाख १५ गते देखि खोप सेवा सुचारु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।
धरान उपमहानगर अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा जन्म देखि १५ महिना भित्रमा लगाउनुपर्ने विभिन्न खोप सेवा लकडाउनका कारण प्रभावित भएको कुरा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले मेयर र उपमेयरलाई जानकारी गराएपछि धरानका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा खोप सेवा सुचारु गर्नका लागि सबै स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको हो ।
कुनै पनि बालवालिकाले जन्मदेखि उसले पाउने खोप जस्तो कुरामा गम्भीर भएर कसरी सञ्चालन गर्दा हुन्छ भन्ने बारेमा तयारी गर्न मेयर तिलक राईले स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता र वरिष्ठ कविराज रामबाबु यादवलाई जिम्मेवारी दिएका छन् ।
चैत्र ११ गते सम्म धरानका बालबालिकाहरूलाई खोप लगाइएको भए पनि ११ गते यता देखि भने बालबालिकाहरूलाई खोप लगाइएको छैन । जन्मिने बित्तिकै बिसीजी, खोप लगाएको ६ हप्ता पछि ४ हप्ताको अन्तरमा ४ वटा डिपिटी र ९ महिना पुगेपछि रुबेला दादुरा र १२ महिना पुरा गरेर १३ महिना लागेपछि जापानिज इन्सेफ्लाईटिस, १५ महिना पुरा भएर १६ महिना लागेपछि एमआर खोप लगाउनुपर्छ । यी सबै खोप सेवाहरू अहिले लकडाउनका कारण सामाजिक दुरी कायम गर्न भनिएकोले र खोप केन्द्रमा बढी भिडभाड हुने भएको भन्दै बालबालिकालाई लगाउने खोप सेवा पुर्णरुपमा बन्द रहेको छ ।
खोप सेवा बन्द हुँदा धेरै बालबालिकाहरूको खोप लगाउने अवधि गुज्रिएको कारण वैशाख १५ देखि लकडाउनमा पनि खोप सेवा सुचारु गर्ने र खोप अपुग भए जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पनि खोप सेवा सञ्चालन गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
धरान भरीमा एक वर्ष सम्ममा खोप लगाउने बालबालिकाको सङ्ख्या ३ हजार ५ सय ३७ जना रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । जसमध्ये २ सय ९५ जनाले एक महिनामा खोप लगाउने गर्दछन् ।
मेयर तिलक राईले खोप सेवा सुचारु गर्न भनेपछि आफ्नो मातहतको सबै स्थानमा वैशाख १५ पछि खोप लगाउनका लागि तयारी अवस्थामा रहन धरान स्वास्थ्य चौकीले पनि निर्देशन दिई सकेको चौकीका प्रमुख नवीन राईले जानकारी दिएका छन् ।


































































