नई दिल्ली: आज मंगलबार बिहानै भारतीय एयरफोर्सका जहाजले पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाजले पाकिस्तानी भुमीमा बम खसालेर विनाक्षति फर्किएको बताइएको छ । यो घटनासँगै परम्परागत छिमेकी शत्रु देश भारत र पाकिस्तानबीच पुनः द्धन्द चर्किएको छ । आणविक हतियारले सुसज्जित दुवै देशबीच ठुलै युद्ध हुने आशंका पैदा भएको छ । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’(एलओसि) भन्दा पर गएर जहाजले बम खसालेको थियो । भारतले पाकिस्तानमा रहेको सिमावर्ती क्षेत्रमा आतंककारी समूह जैश(ए(मोहम्मदको अखडालाई ध्वस्त बनाएको अधिकारीहरूको दाबी छ ।
भारतीय विदेश मन्त्रालयले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन । भारतीय कांग्रसका अध्यक्ष राहुल गान्धीले 'म भारतीय एयरफोर्सका पाइलटहरू (कारबाहीमा संलग्न) लाई सलाम गर्छु' भनेर ट्विट गर्दै हमलाको पुष्टि गरेका छन् । पाकिस्तानले पनि मंगलबार बिहानै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको भन्दै प्रतिक्रिया दिएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताएका छन्।
गएको फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिए पछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो । भारतले यो आक्रमणमा पाकिस्तानको संरक्षणमा रहेको आतंकवादी हमला भएको आरोप लगाउदै मुल्य चुकाउनु पर्ने चेतावनी दिएको थियो भने पाकिस्तानले आक्रमण गरेमा जवाफ फर्काउने बताएको थियो । (एजेन्सीको सहयोगमा)


































































