धरान: आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।
आज विजयादशमीको टीकाको शुभसाइत बिहान ९ः ५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दश दिनसम्म मनाइने यो पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ।


































































