धरान :धरानको वडा नं ६ पानमाराकी गृहणी शोभा दाहाल भण्डारी हरेक शनिबार बिहानै उठेर हरियो तरकारीको पोको मिलाउन र धरान बजार पुग्न हतार हुन्छ । उनी बिहानै ६ बजे धरान १२, अमान बजार आउछिन् । करिब ७ महिना अघिदेखि हरके शनिबार उनको दैनिकी यस्तै छ ।
अमान बजारमामा प्रत्येक शनिबार बिहान अर्ग्यानीक शनिबारे हटिया लाग्दै आएको छ । उपभोक्ताहरुलाई स्वच्छ र स्वास्थ्यकर अर्ग्यानीक तरकारी उपलब्ध गराउने र अर्ग्यानीक खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो हटिया लाग्न थालेको हो । शुरुको सातादेखि नै आफुले उत्पादन गरेको अग्र्यानिक तरकारी बिक्रीमा ल्याउदै आएकी छिन् । उनले भनिन्,‘हटियाले अग्र्यानिक खेती गर्नेहरुलाई प्रोत्साहन गरेको छ, उपभोक्ताहरु पनि सचेत हुदै गएका छन् । धेरै उपभोक्ताहरुलाई अग्र्यानिक तरकारीबारे जानकारी गराउनुपर्छ ।’ उनी हरेक शनिबार बिहान पानमाराबाट आफैले फलाएको साग, टमटर, सिवी लगायत अर्ग्यानीक हरियो तरकारी लिएर आउछिन् ।
धरान ४ वसन्तटारका अगुवा युवा कृषक एवं अर्ग्यानीक खेतीका अभियन्ता कृष्ण राईसहितका अगुवाहरु मिलेर यो शनिबारे हटिया शुरुवात गरेका हुन् । यहाँ धरानको पानमारा, वसन्तटार, सागुरीलगायत धरानभित्रै पनि उत्पादन हुने अर्ग्यानीक हरियो तरकारी, सागसब्जी, गेडागुडी तथा घरेलु उत्पादनहरु बिक्रीमा राखिन्छ । यो हटियाले अर्ग्यानीक किसानलाई मात्र होइन, घरेलु उत्पादन गरिरहेका साना उद्यमीहरुलाई पनि प्रर्वद्धन गरिरहेको छ । ‘पहिला हामी घरबाट नै बेच्थ्यौं, हटिया शुरु भएदेखि यहाँ स्टल राखेर बिक्री गर्न थाल्यौं । कुनै मिसावट नगरिएको उत्पादन भएकोले सबैले मन पराएका छन्,’उद्यमी रेखा राईले भनिन् ।
कृर्षि खेतीमा अत्यधिक रासायनिक मल, बिषादीको प्रयोगबाट उत्पादन भएको कृर्षि उपजले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । धरान ४, वसन्तटार गाउँमा युवा कृषक कृष्ण राईले अर्ग्यानीक तरकारी खेती अभियान चलाइरहेका छन् । तर, उचित बजार नपाएर कृषकहरु निरुत्साहित हुन थालेपछि यो हटिया शुरुवात भएको थियो । पहिला डोकोमा हरियो तरकारी बिक्री गर्न लैजानुपर्ने वा व्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्न बाध्य हुनुपर्ने कृषकहरु अहिले शनिबारे हटियाको कारण उत्साहित छन् । ‘अर्ग्यानीक तरकारीलाई बजाकै मुख्य समस्या थियो, हटियाले गर्दा थोरै भएपनि सहज भएको छ । पहिला डोकोमा बोकेर बेच्न लैजानुपथ्र्यो, यो बजारको जति मुल्य पनि पाइदैनथ्यो,’वसन्तटारका अर्ग्यानीक खेती अभियन्ता कृष्ण राईले भने,‘उत्पादन गरिसकेर पनि बिक्री गर्न फेरी शारीरिक श्रम गर्नुपर्ने बाध्यता हटेर बजारले गर्दा किसानहरुलाई पनि धेरै राहत मिलेको छ ।’
के के पाइन्छ हटियामा ?
शनिबारे अर्ग्यानीक हटिया प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म अमान बजारमा लाग्ने गरेको छ । कहिले कही चाडै तरकारी सकिन्छ, र हटिया पनि चाडै उठ्छ । हटियामा सिजनल सबै हरियो तरकारी उपभोक्ताले खरीद गर्न पाउछन् । हिउद र बर्खाको सिजन अनुसारका उत्पादन भएको हरियो तरकारी कृषकहरुले हटियामा ल्याउने गरेका छन् ।
किसानले उत्पादन भएको सिवि, बोडी, घिरौला, करेला, फर्सीको मुन्टा, टमटर, साग, कटहर, काक्रा, च्याउलगायत अर्ग्यानीक उत्पादनहरु उपभोक्ताले हटियामा पाउछन् । यस्तै, महिला उद्यामीले विना मिसावट तयार गरेको गुन्द्रुक, दाल, किनिमा, फिलिंगे अचार, अकबरे अचार, विष्णुपादुकाको मह, सुद्ध तोरीको तेल, सेलरोटी, बेसार, सुकुटीको अचारहरु पनि उपभोक्ताले सहज मुल्यमा खरीद गर्न पाउनेछन् । यस्तै, सुद्ध तोरीको तेल, ध्युँ, मह पनि उपभोक्ताले हटियामा पाउछन् । जमरा उम्रिएको अंकुरित तरकारी पनि उपभोक्ताले पाउछन् ।


































































