धरान: धरानमा सिजी मोटर्सका विद्युतीय गाडीको शोरुम कार्यबिनायक ट्रे डिङबाट विक्री वितरण सुरु भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले शुक्रवार औपचारिक रूपमा शोरुम उद्घाटन गरेका हुन । प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय कोशी राजमार्ग क्षेत्रमा ईभी सवारीको सङ्ख्या बढेसँगै दुर्घटना पनि बढेकोले टाइम कार्ड प्रणाली लागु गरिएको बताए ।
टाइम कार्ड प्रणाली लागु गरेपछि दुर्घटना ८० प्रतिशत न्यूनीकरण भएको उनको भनाई थियो । उनका अनुसार ईभी गाडीको तीव्र पिक अप र प्रारम्भिक एक्सेलेरेसनबारे चालकहरू पर्याप्त रूपमा जानकार नहुँदा दुर्घटनाको जोखिम बढेको पाइएको छ ।
संयोजक श्रेष्ठले भने ‘ईभी चालकलाई प्रशिक्षण र कडाइका साथ नियमन नगरेका कारण ईभी गाडीको जोखिम बढेको हो ।’ त्यसैले चालकलाई प्रशिक्षण र नियमन आवश्यक रहेको उनले बताए ।
ईभी ब्याट्री मर्मत खर्च उपभोक्ताका लागि चुनौतीपूर्ण रहेको बताउँदै ब्याट्री बिग्रिएमा पूरा ब्याट्री सेट नै फेर्नुपर्ने अवस्था आउने र त्यसको लागत करिब २५ लाख रुपैयाँसम्म पर्न सक्ने भएकाले व्यवसायी र उपभोक्ता दुवै मारमा परेको संयोजक श्रेष्ठको भनाई छ ।
उनले सुरक्षित यात्राका लागि श्रेष्ठले चार्ज ८० प्रतिशतदेखि २० प्रतिशतसम्मको दायरामा प्रयोग गर्न सुझाव दिए । १०० प्रतिशत चार्जमा गाडी चलाउँदा ‘न्युट्रल मोड’ मा जाने तथा ब्रेकिङ प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको उनले ध्यानाकर्षण गराए ।
बजारमा ७५ भन्दा बढी ईभी कम्पनी सक्रिय रहे पनि धेरैले बिक्रीपछि दिने सेवामा ध्यान नदिएको श्रेष्ठको भनाई थियो । तर चौधरी ग्रुप जस्तो प्रतिष्ठित समूहले पोस्ट–सेल्स सेवा, सुरक्षा र उपभोक्ता हितलाई प्राथमिकतामा राखेको उनले बताए ।
कार्यक्रममा साहिल श्रेष्ठ, ध्रुव घिमिरे, कार्यबिनायक ट्रेडिङका प्रोप्राइटर असिम श्रेष्ठ तथा सिजी मोटर्सका प्रतिनिधि शिशिर सुवेदीको उपस्थिति थियो । सहभागीहरूले विद्युतीय सवारी ईभीको प्रयोग बढ्दै गएकोले सुरक्षित सवारी सञ्चालनका लागि बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारमा जोड दिए ।
सिजी मोटर्सले पछिल्लो तीन वर्षदेखि चीनमा उत्पादित सवारी नेपाल भित्र्याउँदै आएको छ । सिजी कम्पनीलाई नेपालमा करिब १० वर्षदेखि गाडी बिक्री–वितरणको अनुभव रहेको जानकारी सिजीका प्रतिनिधि शिशिर सुवेदीले बताए ।
उनका अनुसार सिजी मोटर्सले देशभर ४८१ वटा चार्जिङ स्टेशन स्थापना गर्ने तयारी गरेको छ । हालसम्म २८४ वटा चार्जिङ स्टेशन स्थापना भइसकेको र चरणबद्ध रूपमा विस्तार गरिने उनले बताए ।
कार्यबिनायक ट्रेडिङ शोरुममा ड्युन, आयन–भी, आयन–वाई, एक्सपेन ५ सिटर, रिजरा पिक अप २ ह्वील र ४ ह्वील लगायत सिजी कम्पनीका ११, १४, १५, १६ र १९ सिटरका ईभी सवारी साधन बिक्रीका लागि उपलब्ध रहेको जनाइएको छ ।
धरानमा खुलेको कार्यबिनायक ट्रेडिङ शोरुम मार्फत सिजीका विद्युतीय तथा अन्य सवारी साधनको बिक्री, सेवा र उपभोक्ता परामर्श उपलब्ध गराइने कार्यबिनायक ट्रेडिङका प्रोप्राइटर साहिल श्रेष्ठले बताए ।
कार्यक्रममा सिजीकी कम्पनी प्रतिनिधि प्रतिभा पौडेल उपस्थित थिइन् ।कार्यक्रम सञ्चालन लक्ष्मी बानियाँले गरेका थिए ।



































































